काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिकरूपमा कमजोर भएका जनताको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यसहित विपन्न वर्गसम्बन्धी कर्जालाई प्राथमिकता दिएको छ । तर पनि बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा जाने कर्जा घटाउँदै लगेका छन् । बैंकहरूको खराब कर्जा बढ्नुको कारणहरूमध्ये एउटा कारण विपन्न वर्गमा प्रवाह भएको कर्जा पनि देखिन्छ । बैंकरहरूका अनुसार विपन्न वर्गमा गएको कर्जा उठाउन सकस भइरहेको छ ।
राष्ट्र बैंककोे तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको माघ महिनासम्म बैंक वित्तीय संस्थाले विपन्न वर्गमा दुई खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन कुल कर्जा प्रवाहको पाँच दशमलव ९३ प्रतिशत हो । माघसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ५४ खर्ब ३३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ छ ।
बैंक वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गरेको यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ८७ प्रतिशत अर्थात् २३ अर्ब ६८ करोड रुपैयाँ कम हो । गत वर्ष विपन्न वर्गमा तीन खर्ब १३ अर्ब छ करोड रुपैयाँँ कर्जा प्रवाह गरेका थिए । जुन कुल कर्जा प्रवाहको छ दशमलव ८० प्रतिशत थियो ।
गत माघसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले कुल ४८ खर्ब १८ अर्ब ४४ करोड ७० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा चार दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय छ । सो अवधिसम्म वाणिज्य बैंकहरूले विपन्न वर्गमा दुई खर्ब ४७ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन कुल कर्जाको पाँच दशमलव ७४ प्रतिशत हो । विपन्न वर्गमा प्रवाह भएको यो कर्जा गत वर्षकोे माघ महिनासम्मको तुलनामा शून्य दशमलव ५८ प्रतिशत अर्थात् १६ अर्ब ३९ करोड ६० लाख रुपैयाँँ कम हो । गत वर्ष माघमा वाणिज्य बैंकहरूले दुई खर्ब ६४ अर्ब २८ करोड ६० लाख रुपैयाँँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए । जुन कुल कर्जाको छ दशमलव ३२ प्रतिशत हो ।
सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले पनि गत माघ महिनासम्म पाँच खर्ब १३ अर्ब ४३ करोड रुपैयाँँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यस अवधिमा विकास बैंकहरूले सात दशमलव ४७ प्रतिशतका दरले हुनआउने ३६ अर्ब ६० करोड ५० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा तीन दशमलव ७८ प्रतिशत अर्थात् पाँच अर्ब ७८ करोड १० लाख रुपैयाँँले कम हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले चार खर्ब ९५ अर्ब ६२ करोड ५० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । उक्त अवधिमा विकास बैंकहरूले ११ दशमलव १८ प्रतिशतका दरले हुनआउने ४२ अर्ब ३८ करोड ६० लाख रुपैयाँँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले भने चालू आवको पछिल्लो सात महिनामा एक खर्ब एक अर्ब ५५ करोड ९० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा १२ दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यस अवधिमा फाइनान्स कम्पनीहरूले सात दशमलव पाँच प्रतिशतका दरले हुनआउने चार अर्ब ८८ करोड ५० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव शून्य एक प्रतिशत अर्थात् एक अर्ब ५० करोड ३० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल ९५ अर्ब छ करोड १० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा नौ दशमलव १८ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको थियो । उक्त अवधिमा फाइनान्स कम्पनीहरूले सात दशमलव छ प्रतिशतका दरले हुनआउने छ अर्ब ३८ करोड ८० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।