विराटनगर । रोजगारको खोजीमा युवाहरूको बढ्दो पलायनलाई ध्यानमा राखी उद्योग संगठन मोरङले युवा उद्यमशीलता विकास कार्यक्रमको सुरुवात गरेको छ ।
संगठनले ३० वर्षमुनिका युवाहरूलाई लक्षित गरी उद्यमशीलता विकासमा आकर्षित गर्न स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमलाई परिस्कृतरूपमा ल्याएको हो । व्यावसायिक सोचविचार तथा अवधारणा भएका युवाहरूलाई उद्यमशीलतामा रुपान्तरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको सो कार्यक्रमका लागि संगठनले आवेदन खुलाएको छ । यही चैत ३१ गतेसम्म संगठनको वेवसाइट र सामाजिक सञ्जालबाट आवेदन दिन सकिने संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए । चैत ३१ गतेसम्म प्राप्त कुल आवेदनहरूलाई उद्यमशीलता अवधारणाको प्रस्तुतीकरण गराई उत्कृष्ट १५ जना स्टार्टअप उद्यमीहरू छनौट गरिने उनले बताए । यसरी छनौट भएका उद्यमीलाई निःशुल्करूपमा व्यावसायिक योजना तर्जुमा, व्यावसायिक योजनाअनुरूप आवश्यक पर्ने प्राविधिक विषयहरूमा मेन्टरसिप, कोचिङ, परामर्श सेवा, नेटवर्क र विस्तारको अवसर पनि प्रदान गरिने सुरानाले जानकारी दिए ।
तीन महिनासम्म संगठनको मेन्टरसिपमा रहने स्टार्टअपलाई व्यावसायिक विकासमा थप सहयोग पुर्याउन उक्त अवधिमा बिजनेस क्यानभास मोडेल, बिजनेस हेल्थ चेकअपका साथै हाटबजारलगायतका कार्यक्रमहरू आयोजना गरिने छ । त्यसमा उत्कृष्ट हुन सफल तीन स्टार्टअपहरूलाई पुरष्कृत गर्ने योजना समेत रहेको संगठनका अध्यक्ष सुरानाले जानकारी दिए । संगठनले विराटनगर महानगरपालिका र पूर्वाञ्चल विश्व विद्यालयको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रमले स्टार्टअप व्यवसायको प्रवर्द्धन र विकासका लागि दिगो इकोसिस्टमको जग बसाल्न सहयोग पुर्याउने संगठनको विश्वास छ ।