काठमाडौं । सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’लगायतका नारासहित माइतीघरबाट बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् । सहकारीमा बचत गरेको रकमको ग्यारेन्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने माग उनीहरूको रहेको छ ।
यसअघि मंसिरमा नैं पत्रकार सम्मेलन गरेर सहकारी पीडितहरूले सरकारले आफ्ना माग पूरा नगरे चैतबाट लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले गाउँगाउँबाट वित्तीय संस्था लखेट्ने घोषणा गरेको थियो । उक्त कार्यक्रममा प्राडा सुरेन्द्र केसीले वर्तमान ओली सरकार पीडितहरूलाई न्याय दिनेभन्दा निर्मम हुन थालेको आरोप लगाउँदै लघुवित्त पीडितहरूको प्रतिवेदन सरकारले सार्वजनिक र कार्यान्वयन गर्नुपर्ने धारणा राख्दै भनेका थिए, ‘सरकारले पीडितका कुरा नसुन्ने हो भने यो सरकारलाई यिनै पीडितको आन्दोलन चुनौती बन्ने निश्चित छ ।’
समितिका अध्यक्ष मनिराम ज्ञवालीले नेपाल सरकार राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुङ्गाना तिमिसिनाको नेतृत्वमा गठित स्थलगत अध्ययन कार्यदलले लघुवित्त पीडित प्रतिवेदन २०८१ असार २६ गते पारित प्रतिवेदनलाई सार्वजनिक र कार्यान्वयन गर्न माग गरेका थिए । सरकारले त्यसो नगरेकाले थप मागहरूसहित समग्र वित्तीय शोषणको विरुद्धमा चैतदेखि काठमाडौं केन्द्रीकृत आन्दोलन गर्ने घोषणा गरेका छन् । अध्यक्ष ज्ञवालीले माग पूरा नहुन्जेल आन्दोलनमा जुट्न लघुवित्त, बैंक, सहकारी र मिटरब्याजी पीडितहरूलाई एकजुट भई आन्दोलनमा जुट्न अनुरोध गरेका थिए ।