बैंकक । बंगाालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिम्सटेक)को छैटौँ शिखर सम्मेलन यही अप्रिल ४ मा थाइल्यान्डको बैंककमा आयोजना हुने भएको छ । समृद्ध, लचिलो र खुला बिम्स्टेक विषयवस्तुमा सम्मेलन केन्द्रित हुने भएको छ ।
सन् २०२२ मा कोलम्बोमा भर्चुअल रूपमा पाँचौँ शिखर सम्मेलन आयोजना भएको थियो । त्यसको तीन वर्षपछि छैेटौँ सम्मेलन हुन लागेको छ । सम्मेलनअघि अप्रिल २ मा बिम्सटेक वरिष्ठ अधिकारीहरूको बैठक र अप्रिल ३ मा बिम्सटेक विदेश वा बाह्य मामिला मन्त्रीहरूको बैठक हुनेछ ।
विज्ञप्तिअनुसार शिखर सम्मेलनको उद्देश्य साझा सुरक्षा र विकासका चुनौतीहरू सामना गर्न सात सदस्य राष्ट्रहरू–बङ्गलादेश, भुटान, भारत, म्यान्मा, नेपाल, श्रीलंका र थाइल्यान्डबीच सहकार्यलाई सुदृढ बनाउनु हो ।
यसमा नेताहरूको दृष्टिकोण र निर्देशनहरू प्रतिबिम्बित गर्ने छैटौँ बिम्सटेक शिखर सम्मेलन घोषणापत्र र सदस्य राष्ट्रहरूबीच भविष्यको सहयोगका लागि अग्रणी मार्गचित्र बैंकक दृष्टिकोण–२०३० सहितको बलियो एजेन्डा समावेश हुनेछ ।
हस्ताक्षरका लागि तय गरिएका प्रमुख सम्झौताहरूमा व्यापार र यात्रा बढाउन बङ्गालको खाडीमा कार्गो र यात्रु यातायात बढाउने उद्देश्यले समुद्री यातायात सहयोग सम्झौता समावेश छ ।
यसबाहेक बिमस्टेक र इन्डियन ओसन रिम एसोसिएसन (आइओआरए) का साथै संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडिसी)बीच नयाँ विकास साझेदारीको सुरुआतका लागि सहमतिपत्र (एमओयू)मा पनि हस्ताक्षर गरिनेछ ।
शिखर सम्मेलनमा क्षेत्रीय सहयोगका लागि संस्थागत ढाँचालाई बलियो बनाउन बिमस्टेक बडापत्रको पूरकका रूपमा बिमस्टेक संयन्त्रका लागि प्रक्रियाका नियमहरू अपनाउने र बिमस्टेकको भविष्यको दिशासम्बन्धी विशिष्ट व्यक्तिहरूको समूहको प्रतिवेदन पनि हुनेछ ।
सन् २०२४ मा छवटा बैठक र सरोकारवालाहरूसँग परामर्श गरेपछि समूहले सन् २०२४ सेप्टेम्बरमा आफ्ना सिफारिसहरूलाई अन्तिम रूप दिएको छ र सदस्य राष्ट्रहरूले पहिले नै कार्यान्वयन कदमहरू सुरु गरिसकेका छन् ।
द्रुतरूपमा परिवर्तन भइरहेको विश्वव्यापी राजनीतिक र आर्थिक परिदृश्यको सन्दर्भमा छैटौँ बिम्सटेक शिखर सम्मेलनले सुरक्षा र दिगो विकासका चुनौतीहरूलाई सम्बोधन गर्न सहयोगलाई बढावा दिँदै बङ्गालको खाडीमा एकमात्र क्षेत्रीय निकायका रूपमा संगठनको भूमिकालाई सुदृढ पार्ने अपेक्षा गरिएको छ ।