काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यान्वयनयोग्य र यथार्थपरक बजेट ल्याउने दाबी गरेका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणबारे श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलका क्रममा अर्थमन्त्री पौडेलले वितरणमुखी नभई यथार्थपरक र कार्यान्वयनयोग्य बजेट ल्याइने भएकाले सोहीअनुसारका योजना तथा कार्यक्रम तर्जुमा गर्न सुझाव दिएका छन् ।
अर्थमन्त्री पौडेलले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वितरणमुखी बजेटले उचित प्रतिफल नदिने बताए । अर्थमन्त्रीले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमलाई गम्भीररूपमा समीक्षा गर्न जरुरी भएको बताएका छन् ।
छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विप्रेषणलाई अझ बढी व्यवस्थित गर्न जरुरी रहेको बताए । उनले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सीप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिई योजना तयार पारिने बताए । सो अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा तथा सीप विकासलाई प्राथमिकता दिनुपर्ने विषयमा पनि छलफल भएको थियो ।