काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा झापाका चुडामणि चापागाईँलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई नेप्सेको सीईओ नियुक्त गरेको हो ।
चापागाईँले यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजरको रूपमा काम गर्दै आएका थिए । उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको अनुभव पनि छ ।
मन्त्रिपरिषद्ले यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गर्ने निर्णय गरेको विषय बाहिरिएको थियो । तर, अहिले सो निर्णय उल्ट्याउँदै मन्त्रिपरिषद्ले चापागाईँलाई सीईओ नियुक्त गरेको छ ।
नवनियुक्त सीईओ चापागाईँलाई मंगलबार राजस्व सचिव दिनेशकुमार घिमिरेले नियुक्तिपत्र दिएका छन् । चापागाईँले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ ।