काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यको बजेट समयमै खर्च गर्ने वातावरण बनाउन सक्रियता देखाएका छन् । मन्त्रालयअन्र्तगतका विभिन्न महाशाखा तथा केन्द्रलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले समय बाँकी छँदै अधिकतम प्रगति देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयको कार्य प्रगतिबारे नियमित बैठक राखेर जानकारी लिइरहेका उनले चालू आर्थिक वर्षको अन्त्यसम्ममा अधिकतम नतिजा प्राप्त हुने गरी कर्मचारीलाई सक्रिय बनाएका छन् । यस्तै, उनले मन्त्रालयअन्तर्गतका महाशाखा तथा केन्द्रहरूको नियमित कार्य प्रगतिको रिपोर्टका आधारमा आवश्यक पृष्ठपोषण दिँदै आइरहेका छन् । यसक्रममा मंगलबार प्रगति कमजोर भएका महाशाखा तथा केन्द्रहरूलाई मन्त्री पौडेलले लक्ष्यअनुसार काम गर्नका लागि छलफल गरेका थिए ।
मन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेट प्रगतिको अधिकतम नतिजा निकाल्नका लागि बचेको समय सक्रिय भएर काम गर्नका लागि विभागीय प्रमुखहरूसँग आग्रह गरे । ‘हामीसँग बजेटमा स्रोत छ, तर सोचजस्तो कार्यान्वयन हुन नसकेको विषयमा समीक्षा गरौँ’ं, उनले भने, ‘अब चार महिना बाँकी छ, पूर्ण उपयोग र परिणाममुखी नतिजा दिनुहोला ।’ ‘दातृ निकायहरूबाट बजेट कटौतीका समस्या हाम्रा आमसमस्या हुन्,’ उनले अगाडि भने, ‘समस्या जसले पनि देखाउन सक्छ । तर हामीले भएका स्रोतको अधिकतम उपयोग गरेर त्यसको समाधान पनि निकालौँ ।’
मन्त्री पौडेलले परम्परागत शैली बदलेर काममा नयाँपन आवश्यक रहेको भन्दै त्यसका नयाँ सोचका साथ काम गर्नेहरूलाई सदैव साथ रहने बताए । ‘तपाईंहरूको काम प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक छ भने भन्नुहोला,’ उनले भने ‘हामी त्यसमा हरसम्भव प्रयास गर्नेछौं ।’ स्वास्थ्यमा दाताको बजेट कटौतीले परेका समस्याबारे आफू जानकार रहेको भन्दै उनले अनिवार्य आवश्यक विषयमा सरकारले विकल्प दिने प्रतिबद्धता जनाए ।