काठमाडौं । नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला २०८२, अन्तर–कलेज कुकिङ कम्पिटिसन २०८२ को आयोजना हुने भएको छ । नेपाली सेफ सोसाइटी नेपालले अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीसँगको सहकार्यमा सो प्रतियोगिता र प्रदर्शनी गर्न लागेको हो । अकेडेमी अफ कलिनरी आट्र्स, कलेज लगनखेलमा आगामी वैशाख ४ गते कुकिङ प्रतियोगिता हुने सोसाइटीले जनाएको छ । यस्तै, खानाको व्यापार मेला भने वैशाख ६ गते भृकुटीमण्डपमा हुनेछ । सोसाइटीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनी तथा प्रतियोगिताका बारेमा जानकारी दिएको छ ।
कुकिङ प्रतियोगितामा कलेज तहका विद्यार्थी सेफहरूले आफूमा रहेको पाककला प्रतिभाको सिप प्रस्तुत गरी नेपाली परम्परागत खानालाई नवप्रवर्तनमार्फत प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट कलेजका विद्यार्थी सेफहरूलाई सम्मानित गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने अवसर प्रदान गरिनेछ । प्रतियोगितामा विजेता टोलीहरूलाई नगद पुरस्कारस्वरूप प्रथम एक लाख, द्वितीय ७५ हजार र तृतीय ५० हजार रुपैयाँ, मेडल र साथमा सहभागी कलेजहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
यसैगरी, वैशाख ६ गते हुने मेला तथा प्रर्दशनी भने भृकुटीमण्डप बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेलाले नेपाली खानाको मौलिकता, विविधता र यसको अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने लक्ष्य राखिएको छ । यसका लागि व्यावसायिक स्टलहरूको बुकिङ खुला समेत गरिएको छ । मेलामा युरोप, दक्षिण अमेरिकालगायत ३६ वटा राष्ट्रबाट नेपाली सेफहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ । उद्योगी–व्यवसायी तथा खानामा रूचि राख्नेहरूको सहभागिताको अपेक्षा गरिएको छ । साथै, विविध सांस्कृतिक कार्यक्रम, झाँकी तथा अवार्ड वितरण कार्यक्रम पनि समावेश गरिएको आयोजकले जनाएको छ । स्टल बुकिङ सीमित मात्रामा मात्रै स्टलहरू भएकाले इच्छुक व्यक्ति तथा संस्थाले स्टल बुकिङ गर्न आयोजकले अनुरोध गरेको छ ।
आयोजकका अनुसार नेपाली रैथाने खानालाई विशेष प्राथमिकता दिइने छ । यसैगरी अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम अधिवेशन पनि हुने नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरिराज भट्टले पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा सेफ एसोसिएसनका पूर्वअध्यक्ष रत्न बहादुर थापा, कुलिनरी आट्र्स कलेजका डाइरेक्टर आशीष महर्जन कुलिनरी आट्र्स कलेजका किचेन डाइरेक्टर विष्णु श्रेष्ठ, नेपाली सेफ सोसाइटीका अध्यक्ष एलबी कौशल, वरिष्ठ उपाध्यक्ष बसन्त राई, उपाध्यक्ष शिवहरी घिमिरे, कोषाध्यक्ष विष्णु खत्रीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।