काठमाडौँ । मुलुकको सबैभन्दा पुरानो प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा बुधबार शुभकामना दिदै राष्ट्रपति रामचन्द्र पौडेलले रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाजविहीनहरूको आवाज बन्न र मुलुकले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा सक्रिय रहन आह्वान गरेका छन् ।
उनले ‘आधुनिक नेपालको समावेशी आवाज’ मूल नारासहित ‘राष्ट्रिय रेडियो, राष्ट्रिय सञ्चार’को मर्मअनुरुप क्रियाशील रेडियो नेपाललाई नेपालको संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न तथा सार्वजनिक सेवा प्रसारणको मर्म, भावना र उद्देश्यअनुसार प्रभावकारी ढङ्गले काम गर्न सुझाएका छन् ।
लोकतन्त्रको सुदृढीकरणलाई आफ्नो धर्म मानेर काम गर्न अनुरोध गर्दै राष्ट्रपतिले भनेका छन्( “इण्टरनेट र सूचनाप्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तन उल्लेखनीय छ । यस्तो अवस्थामा दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम उपयोग गरी रेडियो नेपाललगायत आमसञ्चारमाध्यमले आफ्नो सेवा, गुणस्तर र समाचार प्रस्तुतिमा समयानुकूल परिमार्जन गरी अझै जिम्मेवार, विश्वसनीय र जवाफदेही भएर काम गर्नेछन् भन्ने मैले विश्वास लिएको छु ।”