काठमाडौं । व्यावसायिक भुक्तानी प्रदायक सेवा कम्पनी कर्पोरेट पेमा २० हजारभन्दा बढी संस्थाहरू आबद्ध भइसकेको जानकारी कम्पनीले दिएको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनासम्ममा कर्पोरेट पेमार्फत सात खर्ब १४ अर्ब रूपैयाँभन्दा बढीको भुक्तानी कारोबार फछ्र्यौट भइसकेको छ, जुन गत आर्थिक वर्षमा भएको आठ खर्ब रूपैयाँको कारोबार तुलनामा निकै बढी हो ।
कम्पनीका अनुसार यो उपलब्धिले साना तथा मझौला व्यावसायिक र विभिन्न संस्थाहरूले डिजिटल भुक्तानीको लागि कर्पोरेट पे प्रयोग गर्ने प्रवृत्ति बढिरहेको देखिएको छ । कर्पोरेट पेको मल्टी बैंकिङ डिजिटल पेमेन्ट तथा फाइनान्सियल सर्भिसेसले गर्दा प्रयोगकर्ताहरू उल्लेखनीयरूपमा वृद्धि भइरहेको हो । उक्त प्रणाली साना तथा मझौला व्यावसायिक संस्था, सरकारी तथा गैर–सरकारी संस्था, वित्तीय संस्थालगायत विभिन्न संस्थाहरूले प्रयोग गर्दै आइरहेका छन् ।
यस प्रणालीबाट फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, बल्क युटिलिटी भुक्तानी, क्रेडिटर सेटलमेन्टलगायतका विभिन्न भुक्तानीहरू गर्न सकिन्छ । साथै, यस प्रणालीको एउटै प्ल्याटफर्ममा एकभन्दा बढी बैंक खाताहरू लिङ्क गरी भुक्तानीका लागि आवश्यक अप्रेटिङ म्यान्डेटहरू सेट गरी फन्ड तथा रिसिभेवल व्यवस्थापन गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।