काठमाडौं । पियोर इर्नर्जी लिमिटेडले यही चैत्र २८ गतेबाट साधारण सेयरको बिक्री खुला गर्ने भएको छ । यसअघि पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरूका लागि साधारण सेयर बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडमार्फत एक सय रुपैैयाँ अंकित मूल्य कायम रहने गरी ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार दुई सय कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो । कम्पनीका अनुसार सर्वसाधारणले न्यूनतम १० तथा अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको हाल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत सेयर सर्वसाधारण समूहको निष्कासन हुन लागेको हो ।