इस्लामाबाद । यस वर्ष नोबेल पुरस्कारका लागि तीन सय ३८ वटा मनोनयनहरु दर्ता भएका छन् । सन् २०२५को नोबेल शान्ति पुरस्कारका लागि दुई सय ४४ वटा व्यक्ति र ९४ संस्थाहरु मनोनयन भएका हुन् ।
गत वर्ष नोबेल पुरस्कारका लागि दुई सय ८६ जना मनोनित भएका थिए । सन् २०१६मा सबैभन्दा धेरै तीन सय ७६ मनोनयनहरु आएका थिए । सन् २०२५को नोबेल शान्ति पुरस्कारको लागि मनोनयनको अन्तिम मिति जनवरी ३१ थियो । नोबेल पुरस्कार वेबसाइटका अनुसार कुनै पनि क्षेत्रमा नोबेल पुरस्कारको लागि मनोनीत गरेका व्यक्तिहरुको नाम आगामी ५० वर्षसम्म खुलासा हुनेछैन ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको नाम भने खुलासा भएको छ । उनको नाम मनोनयनका लागि प्रस्ताव गर्ने संस्थाले खुलासा गरेको हो । पाकिस्तानी जेलमा रहेका पूर्वप्रधानमन्त्री खानलाई फेरि एक पटक नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको छ । पाकिस्तानमा मानव अधिकार र लोकतन्त्रको प्रवद्र्धन गरेकोमा इमरान खानलाई मनोनयन गरिएको हो ।
यो घोषणा नर्वेजियन राजनीतिक दल पार्टीट सेन्ट्रमसँग सम्बन्धित पाकिस्तान वल्र्ड एलायन्सले गरेको हो । राष्ट्रिय कोषको दुरुपयोगको आरोपमा इमरान खान २०२३ देखि जेलमा रहेका बेला यो मनोनयन आएको हो ।
यसअघि २०१९ मा पनि उनलाई भारतसँगको तनाव कम गरेकोमा नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको थियो । पार्टीट सेन्ट्रमले आइतबार एक्समा पोस्ट गरेको छ । यसअघि इमरान खानलाई सन् २०१९मा नोबेल शान्ति पुरस्कारको लागि पनि मनोनयन गरिएको थियो । यो मनोनयन २०१९मा भारतसँगको तनाव कम गर्न गरिएको थियो ।