काठमाडौं । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ६५ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको दुई करोड ६५ लाख ७३ हजार ७२ पुगेको हो। जुन एक वर्षअघिको तुलनामा ३० लाख ६७ हजार ४४ ले बढी हो । गत वर्ष माघसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ३५ लाख छ हजार २८ थियो ।
वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड २७ लाख ४६ हजार आठ सय ४६ छ । यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरूमा यस्तो संख्या क्रमशः ३५ लाख ४९ हजार चार सय ७१ र दुई लाख ७६ हजार सात सय ५५ छ । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या क्रमशः दुई करोड दुई लाख १८ हजार दुई सय १०, ३१ लाख ८६ हजार चार र एक लाख ७९ हजार दुई सय १४ थियो ।
गत माघ मसान्तसम्म नेपालमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २१ लाख ४१ हजार छ सय चार छ । जसमध्ये वाणिज्य बैंकहरूमा १५ लाख सात हजार ९९, विकास बैंकहरूमा छ लाख १७ हजार एक सय ५४ र फाइनान्स कम्पनीहरूमा १७ हजार तीन सय ५१ छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने यस्तो ग्राहक संख्या १८ लाख ३५ हजार आठ सय ४९ थियो । जसमध्ये वाणिज्य बैंकहरूमा १२ लाख ८२ हजार ५५, विकास बैंकहरूमा पाँच लाख ३८ हजार पाँच सय ३७ र फाइनान्स कम्पनीहरूमा १५ हजार दुई सय सात थियो ।
नेपाली बैंकिङ क्षेत्रमा मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या निरन्तर बढ्दै गए पनि शाखारहित सेवा केन्द्र र शाखारहित सेवा ग्राहक संख्या भने निरन्तर घट्दै गएको छ । विगतमा बैंकहरूले वित्तीय पहुँच विस्तारका लागि भन्दै शाखारहित सेवा केन्द्र खोलेको भए पनि अहिले सबै क्षेत्रमा इन्टरनेटको पहुँच पुगेसँगै मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ता संख्या बढ्दा शाखारहित सेवाग्राहीको संख्या घटेको हो । सोही आधारमा पछिल्लो समय शाखारहित सेवा केन्द्रको कुल संख्या घटेर एक हजार २८ मा सीमित रहेको छ । जसमध्ये वाणिज्य बैंकहरूमा एक हजार ११ र विकास बैंकहरूमा १७ वटा रहेको छ भने फाइनान्स कम्पनीहरूमा यस्तो संख्या शून्य रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने शाखारहित सेवा केन्द्रको कुल संख्या एक हजार दुई सय १३ रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरूमा एक हजार एक सय ९६ र विकास बैंकहरूमा १७ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार गत माघ मसान्तसम्ममा बैंकिङ क्षेत्रमा शाखारहित सेवा केन्द्रका कुल ग्राहक संख्या पनि घटेर दुई लाख ९७ हजार चार ६० मा खुम्चिएको छ । सोमध्ये वाणिज्य बैंकहरूमा दुई लाख ९६ हजार दुई सय ७२ र विकास बैंकहरूमा एक हजार एक सय ८८ रहेको छ । गत वर्ष माघसम्म क्षेत्रमा शाखारहित सेवा केन्द्रतर्फको कुल ग्राहक संख्या तीन लाख चार हजार चार सय ८९ रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरूमा तीन लाख दुई हजार नौ सय ६७ र विकास बैंकहरूमा एक हजार पाँच सय २२ रहेको थियो ।