काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्रीहरूको उपस्थितिमा बैंककमा बुधबार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्सका अध्यक्ष सानन अंगुबोल्कुलले समझदारीमा हस्ताक्षर गरेका हुन् । यस समझदारीले नेपाल र थाइल्यान्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ । साथै, दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।
द्विपक्षीय समझदारीअन्तर्गत दुवै पक्षले व्यापार प्रवद्र्धन, संयुक्त उद्यमको सुविधा, व्यापारिक जानकारी आदानप्रदान र औद्योगिक सहकार्यलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, व्यापार मेला, व्यावसायिक फोरम र विशेष आर्थिक कार्यक्रमहरूमा सहभागितालाई प्रोत्साहन गर्ने विषय समझदारीपत्रमा समावेश गरिएको छ । यस्तै, विवाद समाधान प्रणालीलाई प्रवद्र्धन गर्ने र प्राविधिक विशेषज्ञता तथा तालिम आदानप्रदानलाई सशक्त बनाउने विषय पनि समझदारीपत्रमा उल्लेख छ ।
महासंघका अध्यक्ष ढकालले नेपाल–थाइल्यान्डबीच भएको यस समझदारीले नेपाल र थाइल्यान्डबीचको आर्थिक सहकार्यका लागि नयाँ आधारशीला तयार गरेको बताए । ‘दुई देशबीच व्यापार व्यवसायको सहकार्यका प्रयाप्त सम्भावनाहरू रहेका छन् । महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडका बीचको आपसी सहकार्यको व्यापार र लगानीका लागि नयाँ अवसरहरू खोल्ने विश्वास छ । जसले दुवै राष्ट्रका व्यवसायलाई फस्टाउने अवसर प्रदान गर्नेछ’, उनले भने । यस्तै, थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष अंगुबोल्कुलले यो साझेदारीले दुवै देशका व्यापारिक समुदायहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्ने बताए ।
बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमसटेक) को छैटौँ शिखर सम्मेलनका अवसरमा गरिएको यो समझदारीपत्र तीन वर्षसम्म लागू हुनेछ । समझदारीले नेपाली तथा थाई व्यवसायहरूबीच निरन्तर सहकार्यका लागि एक मजबुत आधारको रूपमा काम गर्ने महासंघले जनाएको छ । महासंघले थाइल्यान्डको बोर्ड अफ ट्रेडसँग मिलेर यस सम्झौताका लक्ष्यहरू सफलतापूर्वक कार्यान्वयन गर्न तथा आपसी सहकार्यका नयाँ सम्भावनाहरू खोज्न तत्पर रहेको उल्लेख गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली प्रतिनिधिमण्डल थाइल्यान्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी रहेको छ ।