काठमाडौं । एनआईसी एसिया बैंकको एटीएमबाट कार्डविना रकम निकाल्न सकिने भएको छ । बैंकले आफ्ना ग्राहक तथा इ–सेवा वालेट प्रयोगकर्ताहरूलाई बैंकिङ कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने हेतुले मुलुकभर रहेका यस बैंकका एटीएमहरूबाट इ–सेवा वालेटमा रहेको रकम एटीएम कार्डविना नै निकाल्न मिल्ने सेवाको सुरुवात गरेको छ ।
मुलकभर रहेका एनआईसी एसिया बैंकका छ सय ७० एटीएमबाट इ–सेवा वालेटमा रहेको रकम कुनै झन्झटविनै सामान्य प्रक्रियाबाट निकाल्न सकिन्छ । यसको निम्ति सबैभन्दा पहिला इ–सेवा एप लगइन गरेर फाइनान्सियल पेमेन्टअन्तर्गत रहेको एटीएम हुइथड्रमा एनआईसी एसिया बैंक छनौट गर्नुपर्छ । अब दिएको निर्देशनअनुसार एक हजार, दुई हजार, तीन हजार, चार हजार र पाँच हजार रूपैयाँ रकम छनौट गर्दै रिमार्कस राखेर अगाडि बढ्नुपर्छ ।
त्यसपछि इ–सेवा पिन राखेपछि आफ्नो मोबाइल नम्बरमा ओटीपी कोड प्राप्त हुनेछ । अब एनआईसी एसिया बैंकको एटीएममा रहेको कार्डलेस विथड्र अप्सनमा गएर अदर कार्डलेस र त्यसपछि इ–सेवा छनौट गर्नुपर्छ । यसअघि मोबाइल नम्बरमा प्राप्त कोड राखेर प्रोसिड गरेपछि आफ्नो रकम प्राप्त हुनेछ । हरेक दिन बढीमा पाँच वटा कारोबारमा पाँच हजार रुपैयाँसम्म र मासिक बढीमा ५० कारोबारमा २५ हजार रुपैयाँसम्मको रकम निकाल्न सकिने सुविधा यस सेवामा उपलब्ध रहेको छ ।