काठमाडौं । एनसेल फाउन्डेसनले हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को प्रत्येक एक गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता जनाएको छ ।
फाउन्डेसनले शिक्षा र समुदाय सशक्तीकरणप्रति आफ्नो प्रतिबद्धताअनुरूप सो सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । यो पहल विशेषगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको स्रोतको अभावलाई घटाउँदै, गुणस्तरीय शिक्षाका लागि योगदान पुर्याउने फाउन्डेसनको प्रतिबद्धतामा आधारित रहेको छ । मंगलबारसम्म खेलिएका खेलहरू र तीनका नतिजाअनुसार फाउन्डेसनले ११ गोलबापत दुई सय ७५ वटा शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित भइसकेको छ । यसरी वितरण हुने सामग्रीहरूमा झोला, कापी, सिसाकलम, सार्पनर, इरेजरजस्ता आवश्यक शैक्षिक सामग्रीहरू समावेश हुन्छन् । यसले स्रोतसाधन अभाव भएका समुदायका विद्यार्थीलाई उनीहरूको सिकाइ अनुभव सुधार गर्न योगदान पु¥याउने लक्ष्य राखेको छ ।
‘हाम्रा समुदायहरूको सम्बन्ध फुटबलसँग गहिरो छ र यो पहलले फुटबलको उत्साहलाई विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि अर्थपूर्ण शैक्षिक सहयोगमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ,’ फाउन्डेसनकी प्रोजेक्ट डाइरेक्टर विषाशा लक्ष्मी खड्काले भनिन्, ‘हामी नेपाल सुपर लिगका सबै खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्छौं र यस महत्वपूर्ण उद्देश्यका लागि थप गोलहरू हुनेमा उत्साहित छौं ।’ फाउन्डेसनले खेललाई यसअघि पनि शैक्षिक सहयोगसँग जोडेको थियो ।
यसअघि नेपाल प्रिमियर लिग (एनपीएल)का दौरान, फाउन्डेसनले प्रत्येक एक चौका बराबर चारवटा शैक्षिक शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चत गरेको थियो । त्यसअनुसार एनपीएलका छ सय ५३ चौकाबापत फाउन्डेसनले कुल दुई हजार छ सय १२ शैक्षिक सामग्रीहरू वितरण गरिरहेको छ । हालसम्म फाउन्डेसनले नेपालभरिका ४२ सरकारी विद्यालयका विद्यार्थीहरूलाई पाँच हजारभन्दा बढी शैक्षिक सामग्रीहरू वितरण गरिसकेको जनाएको छ । एनएसएलको समापनपछि, एनसेल फाउन्डेसनले सम्बन्धित निकायहरू र अन्य सरोकारवालासँगको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गर्नेछ ।