काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको तेस्रो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् ।
दोलखाको चरिकोटमा चैत्र ५ गते सम्पन्न भएको तेस्रो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी पदभार कार्यक्रम राखिएको थियो । सो अधिवेशनले दामोदर नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, होटल व्यवसायी महासंघ नेपालका पर्यटन उपाध्यक्ष सन्तोष उप्रेती, होटल संघ नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले संघको निवर्तमान कार्यसमितिलाई विशेष धन्यवादसहित नवनिर्वाचित २१ सदस्यीय कार्यसमितिलाई कार्यकाल पूर्ण सफलताको शुभकामना दिएका थिए । उक्त अवसरमा नयाँ कार्यसमितिले पदभार ग्रहण गर्नुका साथै पुरानो कार्यसमितिबाट जिम्मेवारी हस्तान्तरण भएको थियो ।