बैंकक । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानपछि थाइल्यान्डका व्यवसायी नेपालमा पर्यटन, होटल, निर्माणजन्य कच्चापदार्थजस्ता क्षेत्रमा लगानी गर्न उत्साहित देखाएका छन् । प्रधानमन्त्री ओलीसँग छलफलका क्रममा थाई व्यवसायीहरूले नेपालमा लगानीका सम्भावना, अवसर र सहकार्यका विषयमा चासो राखेका हुन् ।
सो अवसरमा व्यवसायीहरूले लगानी गर्न कानुनी सहजता र लगानीपछिको मुनाफा फिर्ता लैजाने प्रबन्धलगायतका विषयमा चासो राखेका थिए । नेपालमा विदेशी मुद्राको सहजता र ‘रिजर्भ’बारे पनि उनीहरूको जिज्ञासा थियो । छलफलका क्रममा नेपाली उद्योगी–व्यवसायीहरूको प्रतिनिधिमूलक टोलीले लगानीका लागि प्रचुर सम्भावना रहेकाले नेपालमा लगानी गर्न थाई व्यवसायी तथा लगानीकर्तासँग अनुरोध गरेका थिए । छलफलमा सहभागी प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहाकार डा युवराज खतिवडाले लगानीका विविध आयामका विषयमा छलफल भएको र लगानी मात्रै नभई भावनात्मकरूपमै सहकार्य गर्न नेपाल तयार रहेको सन्देश थाई उद्योगी–व्यापारीसहित लगानीकर्ताहरूलाई प्रधानमन्त्री ओलीले दिएको जानकारी दिए ।
निर्माणजन्य उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरू छलफलमा सहभागी थिए । डा खतिवडाका अनुसार थाई व्यवसायीहरूले नेपालमा लगानी गर्न इच्छा र तत्परता देखाएका छन् । छलफलबारे जानकारी दिँदै डा खतिवडाले भने, ‘निर्माणजन्य उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरू छलफलमा सहभागी हुनुहुन्थ्यो । उहाँहरूले नेपालमा लगानी गर्न आतुर रहेको बताउनुभयो । त्यसका लागि उपयुक्त साझेदारको खोजी गर्छौं भनी लगानी गर्न तत्परता देखाउनुभएको छ ।’
लगानी गरिसकेपछि विदेशी मुद्रा फर्काउनेबारे नेपालमा रहेको कानुनी व्यवस्थाका बारेमा उनीहरूले विशेष चासो राखेको खतिवडाले बताए । कर्मचारी प्रशासनले दिने दुःख, झन्झटिलो व्यवस्थालाई हटाउन, भन्सारका दरहरू घटाएर व्यवस्थित गर्नसमेत लगानीकर्ताले जोड दिएका थिए । छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्नुपर्ने क्षेत्रहरूका बारेमा छलफल भएको जानकारी दिए । उनले भने, ‘नेपालमा लगानी गर्नुपर्ने जति पनि क्षेत्र छन्, तिनमा लगानी गर्न प्रधानमन्त्रीले आह्वान गर्नुभयो । धेरैजसो लगानीसम्बन्धी कानुन परम्परागत थिए, ती लगानीका लागि बाधक थिए, ती सबै कानुनलाई संशोधन गरेर सहज बनाइएको अवस्था छ, सरकारको प्रतिबद्धता ‘इन्सुरेन्स’ गर्ने भन्ने छ, त्यसले थाई व्यवसायीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरेको छ ।’