प्राचीनकालमा गुरुकुलमा आधारित शिक्षा प्रणाली प्रचलनमा थियो । गुरुकुलमा गुरुशिष्य प्रणालीबाट शिक्षा दिने गरिन्थ्यो । जसले सैद्धान्तिकका साथसाथै व्यावहारिक शिक्षालाई पनि जोड दिने गर्दथ्यो । विद्यार्थीहरू गुरुको घर वा आश्रममा बसेर पढ्थे । त्यहाँ अहिलेको जस्तो तीन घण्टे परीक्षा हुँदैन’थ्यो । काम गर्दागर्र्दै शिष्यको कौशलको आधारमा उसको गुण र दोष छुट्याइन्थ्यो । जसमा शिक्षा प्रत्यक्षरूपमा गुरुबाट शिष्यलाई हस्तान्तरण गरिन्थ्यो ।
गुरु गुरुजस्ता हुन्थे अनि शिष्य शिष्यजस्तै हुन्थे । यो शिक्षा प्रणालीमा विद्यार्थीहरूलाई आत्मनिर्भर हुन सिकाइन्थ्यो । जसमा विद्यार्थीहरूले आफैँ खाना पकाउन सिक्थे । गुरुकुलको मुख्य विशेषता भनेको नै आफैँ सरसफाइ गर्ने, खेतीपाती गर्ने र आफूलाई चाहिने सबैजस्तो उत्पादनमा आफैँ संलग्न हुने हो । यसले शिक्षासँगै आत्मनिर्भरताको बाटो पनि खन्ने गर्दथ्यो । गुरुकुलमा दर्शनशास्त्र, धर्मशास्त्र, भागवत गीता, उपनिषद्, चारै वेद, गणित, विज्ञान, भाषा साहित्य, गायन, नृत्य, चित्रकला, युद्धकला, कुस्ती, धनुर्विद्या साथै तरबार चलाउनेलगायत जीवनोपयोगी कला सिकाउने गरिन्थ्यो । जसले गर्दा गुरुकुलमा पढेका मानिसहरू अनुशासित हुनुका साथै सभ्य, ज्ञानी, भलाद्मी अनि गुरु र ठूलालाई आदर गर्ने अनि सानालाई माया गर्ने खालका हुन्थे । त्यस बेलामा अनुभवको पनि प्रयोग गरेर त्यसलाई शैक्षिकरूपमा लिइन्थ्यो । त्यो समयमा नाटक, संस्कृत व्याकरणका साथै चित्रकला, गायन र विभिन्न किसिमका नृत्यको पनि अध्यापन गराइन्थ्यो । आयुर्वेद र ज्योतिषको पनि पढाइ हुन्थ्यो । यो प्रणालीमा बिहानै ब्रह्ममुहूर्तमा उठ्ने, योग, ध्यान र प्रार्थना गर्ने अनि आफ्नो दिनचर्यालाई चाहिने सबै कला सिकाइन्थ्यो । तर आधुनिकीकरणसँगै यो शिक्षाप्रणाली बिस्तारै हराउँदै गएको छ । तथापि, नेपाल र भारतको कति ठाउँमा अझै पनि गुरुकुल शिक्षा कायमै छ ।
गुरुकुल शिक्षा प्रणाली ज्ञान, अनुशासन, नैतिकता, आत्मनिर्भरता र व्यावहारिक सिपमा आधारित थियो । आधुनिक शिक्षा प्रणाली जति नै वैज्ञानिक भए पनि गुरुकुल शिक्षा प्रणालीले नैतिकता, आत्मनिर्भरता, योग र वेद अध्ययनलाई प्राथमिकता दिने भएकाले यसको महत्व आज पनि उत्तिकै छ । तर आजको दिनमा शिक्षाको विकास आधुनिकीकरणसँगै मौलाएको छ । आज प्रत्येक विषयको आफ्नै खालको शिक्षा छ । व्यावसायिक शिक्षा, राजनीतिक शिक्षा, आर्थिक शिक्षा, वैज्ञानिक शिक्षा, मेडिकल शिक्षा, खगोलीय शिक्षा, व्यावसायिक शिक्षालगायत अन्य धेरै शिक्षाको विकास भएको छ । पहिलेजस्तो कण्ठ बनाएर पढ्ने मात्र नभई आजको युगमा कम्प्युटर प्रणालीबाट मानिसले पढेर अनुसन्धानात्मक शिक्षाको विकास भएको छ । आजको दिनमा धेरै प्रायोगिक ज्ञान दिएर पढाइको स्तरलाई माथि उठाइएको छ । आजको समाजमा मानिस निकै अगाडि गइसकेका छन् । मानिस एकदम स्मार्ट र बाहिर हेर्दा अति नै बुज्रुक देखिएका छन् । तर जति नै शिक्षित भए पनि नैतिक शिक्षा आजको आवश्यकता भएको छ ।
शिक्षाले मानिसलाई क्रूर बनाउने होइन, इमानदार बनाउनुपर्ने हो । शिक्षाले अन्धकारबाट उज्यालोतर्फ लैजानुपर्ने हो । शिक्षाले घमण्डलाई तोडेर असल मानिस बनाउनुपर्ने हो । तर पहिले पढेका मानिसहरूको जीवन अनुशासनबद्ध हुन्थ्यो । आजको भन्दा धेरै नै फरक थियो । विषयगत ज्ञान मात्र होइन, मानिसमा हुनुपर्ने गुणहरू नै अभाव देखिन्छ । पहिलेपहिले गुरूको भूमिका पनि पैसामा अडेको थिएन । उनीहरू आफू गुरू हुँ नभनी मार्गदर्शकको रूपमा थिए र गुरू मात्र शिक्षक नभई जीवन मार्गदर्शक पनि थिए । गुरू आफ्ना शिष्यहरूलाई मूल्यवान शिक्षा र संस्कार प्रदान गर्थे । शिक्षा निःशुल्क थियो । तर गुरूदक्षिणा वा विद्यार्थीले उपहार दिने गर्थे जुन एउटा प्रणाली प्रचलित थियो । आजको दिनमा शिक्षाको विकास भएको छ । नेपालमा आजको शिक्षा प्रणालीले मानिसलाई ज्ञानले मात्र शिक्षित बनाइरहेको जस्तो छ, तरिकाले होइन । डिग्री हासिल गर्न त सबै सक्छन्, तर त्यसको उपयोग गरेर समाज, देश र आफ्नो घरको विकास गर्ने छन् कि छैनन्, त्योचाहिँ धेरै महत्वपूर्ण कुरा हो । हामीले पढेको कुरा जीवनमा कसरी लागू गर्ने, भाषण मात्र दिएर होइन, वास्तविकरूपमा काम कसरी गर्ने, त्यो शिक्षाले सिकाउनुपर्छ । तर, आजको शिक्षा प्रणालीले धेरै नै याद गर्ने, रट्टा मार्ने, परीक्षा दिने अनि प्रमाणपत्र प्राप्त गर्नेतर्फ झुकेको छ ।
शिक्षाले समाज, देश अनि सारा विश्वलाई अगाडि बढाउनुपर्ने हो । तर शिक्षित मानिस नै भ्रष्ट भएका छन् । लोभलालच बढ्दै गएको छ, मपाई गर्ने, भ्रष्टाचार गर्ने, अरूलाई अपमान गर्ने, आफू मात्र सोच्ने, ‘म ठूलो हुँ’ भन्ने अनि समाजको सेवा गर्नेजस्तो गरेर राजनीति गर्नेजस्ता शिक्षाको उपयोग त्यति देखिँदैन । शिक्षाले जीवनमा इमानदारी, सदाचार, अन्यायविरुद्ध आवाज उठाउने, अनि उच्च सोचजस्ता कुरा सिकाउने अनि समाजमा नैतिकवान शिक्षा दिन सक्यो भने त्यो शिक्षाको उपयोग भएको मानिन्छ । शिक्षित भएपछि त यसै समाज बदलिनुपर्ने हो । तर नेपालमा रोजगारीमुखी शिक्षाको पनि अत्यन्तै कमी छ । हो पहिलेको भन्दा केही मात्रामा रोजगारीमुखी शिक्षा बढेको छ, तर पढेकाहरूलाई व्यावहारिक ज्ञानको अभावले गर्दा शिक्षा पढाइमा मात्र सीमित भएको छ ।
हामीले जहिले पनि डिग्री पढ्न चाहन्छौँ तर त्यसलाई कसरी उपयोग गरेर आफू र अरूको जीवन राम्रो बनाउने, त्यसबारेमा कम नै सोच्छौँ । नेपालमा प्राविधिक र व्यावसायिक शिक्षामा कम जोड दिइएको छ । विदेश जाँदा धेरैले छिमेकी देशमा जस्तो मेहनत गर्न सक्छन्, तर नेपालमा छोड्दा मात्र आफ्नो इज्जत सम्झेर बस्छन् । साथै, शिक्षित मानिसहरूकै गैर–जिम्मेवारीपूर्ण व्यवहार समाजमा छ । नेपालमा शिक्षित मानिसहरू नै धेरै भ्रष्टाचारमा संलग्न हुने, आफूलाई मात्र सोच्ने, देश अनि समाजको विकासमा संलग्न नहुने भएकाले पनि यस्तो देखिएको हो । सिधा कुरा गर्दा शिक्षित हुनुभन्दा पनि शिष्ट, इमानदार अनि सामाजिकरूपमा जिम्मेवार हुन सक्ने मानिस बन्न गाह्रो भएको छ । शिक्षित मानिस भएपछि देशप्रेम हुनुपर्छ र नागरिक कर्तव्यको अभाव हुनुहुँदैन । जुन धरतीले केही सिकायो, त्यही धरतीलाई बिर्सिनुहुँदैन । तर धनी र गरिबको खाडल छ अनि लोभ र लालच बढ्नाले नेपाली शिक्षाले नागरिकलाई देशप्रेम सिकाउने कुरा नगरेकोजस्तो छ । धेरै जना शिक्षित हुँदा पनि देशमा शान्ति र बौद्धिक कुराहरू मात्र हुनुपर्ने हो, त्यो नेपालमा देखिँदैन । शिक्षा व्यापार भएको छ । शिक्षित मानिसहरू पनि धेरै अवसरको खोजीमा विदेश जाने, त्यहाँ बस्न खोज्ने अनि देशका लागि केही गर्ने सोच नै नराख्ने देखिएको छ । राज्यले पनि विदेश बस्नेहरूलाई देशमा ल्याएर बसाउने र शिक्षित मानिसलाई देश फर्काउनेतिर खासै चासो दिएको देखिँदैन ।
शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्रै नभई व्यक्तित्व निर्माण गर्ने साधन हुनुपर्छ । सही शिक्षा भनेको केवल किताबका पानामा सीमित नभई व्यावहारिक जीवनमा पनि लागू गर्न सकिने हुनुपर्छ । यदि शिक्षाले व्यक्तिलाई सद्गुणी, इमानदार, सामाजिक उत्तरदायी तथा देशप्रेमी बनाउन सक्यो भने मात्रै त्यो साँचो अर्थमा प्रभावकारी शिक्षा ठहर्ने छ । असली शिक्षा दिनका लागि व्यावहारिक शिक्षा बढाउने, नैतिक शिक्षा अनिवार्य बनाउने, रोजगारीमुखी तथा सिपमा आधारित शिक्षा लागू गर्ने, सामाजिक जिम्मेवारी शिक्षामा समावेश गर्ने, देशप्रेम र नागरिक कर्तव्यसम्बन्धी शिक्षामा धेरै जोड दिने गर्नुपर्छ ।
नेपालमा शिक्षाको पहुँच सबैमा छैन, यो बिडम्बनाको कुरा हो । पढ्न चाहेको विषय पढ्न पाएका छैनन् । भौगोलिक कारण, राजनीतिक कारण, आर्थिक कारण, पढाइपछि के हुन्छ भन्ने ज्ञानको कमीका साथै अन्योलपूर्ण भविष्यले गर्दा पनि आमनेपाली शिक्षा प्राप्त गर्नबाट बञ्चित भएका छन् । साथै, नेपालमा चाहिने विषयगत अध्ययन गर्न नपाउने भएकाले विदेश गएर पढ्न बाध्य भएका छन् । पढाइसँगै समाज रूपान्तरण गर्ने शिक्षा, ज्ञानवान बनाउने शिक्षामा जोड दिने हो भने लुटपाट र अशान्ति हुने थिएन कि ! साथै, नेपालमा धार्मिक भावनाको विकास हुने शिक्षा हुनुपर्ने देखिएको छ । जसले गर्दा समाजमा विकृति कम हुन सकोस् । असली शिक्षा दिनका लागि व्यावहारिक शिक्षा बढाउने, नैतिक शिक्षा अनिवार्य बनाउने, रोजगारीमुखी तथा सिप–आधारित शिक्षा लागू गर्ने, सामाजिक जिम्मेवारी शिक्षामा समावेश गर्ने, देशप्रेम र नागरिक कर्तव्य शिक्षामा धेरै जोड दिनेजस्ता कार्य गर्नुपर्छ ।
ज–जस्तो भए पनि शिक्षा सबैको पहुँचमा हुनुपर्छ । राज्यले पढ्न चाहेको विषय र आवश्यक विषयको अध्ययन देशमै हुने वातावरण बनाउनुपर्छ । साथै, शैक्षिक ऋणलाई प्रभावकारीरूपमा अगाडि बढाउनुपर्छ । अनि सबै जना शिक्षित भई राज्यको मुहार फेराउन सकिन्छ । आजको समयमा शिक्षा विलासिता होइन, अनिवार्य आवश्यकता हो । जीवनभर सिक्ने प्रक्रियालाई अंगाल्दै, ज्ञान र सिपको विकास गर्नु आजको प्रतिस्पर्धात्मक युगमा सफलताको प्रमुख आधार हो । यति हुँदाहुँदै पनि सबैभन्दा महत्वपूर्ण कुरा भनेको शिक्षित व्यक्ति नैतिकवान् हुनुपर्छ । नैतिकताविनाको शिक्षाले राम्रो आचरण सिकाउन सक्दैन । चाहे जुनसुकै विषयका विद्वान् हुन्, नैतिकवान् भएर लिने र दिने शिक्षाले राष्ट्रको मुहार फेर्न सक्छ ।
शिक्षित व्यक्ति भन्नुको खास अर्थ भनेको आफ्नै क्षेत्रको ज्ञान हासिल गर्नु मात्र होइन । शिक्षित व्यक्तिमा, सहनशीलता, धैर्यता, कर्तव्यनिष्ठता, उदारता, मानवता, दानवीर, नैतिकता, बौद्धिकता र करुणायुक्त भई आउँदा पुस्तालाई पनि सही दिशामा अग्रसर गराउने शिक्षा हुनु हो । यदि शिक्षाले यी सबै गुण प्रदान गर्न सक्यो भने त्यो शिक्षा दिव्य प्रकाशको रूपमा उज्यालो फैलाउन सक्षम हुनेछ ।
नैतिकवान शिक्षा हिजो मात्र होइन, आज र भोलिका लागि पनि उत्तिकै आवश्यक छ । नैतिकवान नभएको शिक्षा रसविनाको सुन्तलाजस्तै हो । आशा छ, अबका शिक्षित व्यक्ति यी सबै गुणले भरिपूर्ण होऊन् ।