काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकहरूको सहयोग तथा विश्वासप्रति आभार व्यक्त गरेको छ । बैंकले देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजनाअनुरूप आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधाहरू प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको जनाएको छ ।
कुमारी बैंकको २४ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई आ–आफ्नो परम्परा र संस्कृतिको महत्व दर्शाउन ‘परम्परागत भेषभूषा’ पहिरन गर्न प्रोत्साहित गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो परम्परागत पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पोशाकमार्फत सांस्कृतिक पहिचान तथा सम्बर्द्धन गर्न मद्दत पुर्याएको विश्वास लिएको छ । विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यक्षेत्रमा ‘विविधतामा एकता’लाई जोड दिएको छ । यस पहलमार्फत बैंकले ‘सबैका लागि सधैँका लागि’ भन्ने मूल उद्देश्यभित्र रही आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, संस्थागत संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ । यसका साथै वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानहरूबाट रक्तदान कार्यक्रम आयोजना भएको छ । यसले स्थानीयस्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ ।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १६ वटा एटीएम काउन्टर, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।