काठमाडौं । ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागाजिन ‘विजनेस कनेक्ट’द्वारा ग्राहक केन्द्रित बैंकको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
निरन्तररूपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराएको तथा ग्राहकलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरू उपलब्ध गराउन बैंकले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्दै उक्त म्यागजिनले सम्मान गरेको हो ।
बिजनेस कनेक्ट म्यागजिन व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचारहरू तथा प्रभावशाली व्यावसायिक व्यक्ति तथा संस्थाहरूको कभर स्टोरीलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आइरहेको छ । यस सम्मानको प्राप्तिसँगै ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनहरूमा वित्तीय पहुँचबाट बाहिर रहेका आमनेपाली नागरिकहरूलाई समेत बैंकिङ प्रणालीभित्र ल्याउन सकिने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।