काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब डेढ दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक सहयोगस्वरूप दुई लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले आफ्नो १८ औँ वार्षिकोत्सव आउँदो वैशाख ७ गते मनाउँदै छ । सोही उपलक्ष्यमा बैंकले यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको बताइएको छ । बेबी लाइफ होममा हाल २७ जना एचआईभी संक्रमित बालबालिका आश्रित रहेका छन् । विशेषगरी बिपन्न समुदायमा जन्मेका एचआईभी पोजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई कठिन चुनौतीको सामना गर्नुपर्ने हुँदा सञ्चालनमा केही सहजता होस् भन्ने हेतुले बैंकले एक समारोहका बीच दुई लाख रुपैयाँको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरेको हो । उक्त रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थोपचारमा खर्च गर्ने कुरा संस्थाका सञ्चालक राजकुमार पुनले जानकारी दिए ।
हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरतास्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । बैंकले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना दुई सय वटा शाखा, एक सय ६८ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।