काठमाडौं, साउन १४
मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरूलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ । बैंकको दशौं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरूलाई आठ दशमलव ३२ ब्याजदरमै कर्जा दिनेगरी बैंकले नयाँ योजना ल्याएको हो । बैंकका अनुसार अब साना तथा मझौला व्यवसायीहरूले एक करोडसम्मको कर्जा आठ दशमलव ३२ प्रतिशत ब्याजदरमै पाउनेछन् । यो ब्याजदर एक वर्षसम्म नबढ्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस्तो कर्जाको लागि आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने व्यवस्था मिलाइएको छ । मेगा बैंकका देशभर छरिएका दुुई सय छवटा शाखाबाट यो सुविधा पाइनेछ । कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागि यो कर्जा योजनाले लाभ मिल्ने विश्वास बैंकले लिएको छ ।