तीनकुनेमा ताण्डव चलिरहँदा त्यहाँ आगजनीको काम एउटा पर्चालाई सलेजो बनाएर भएको थियो । ‘२०८१ साल चैत्र १५ गते तीनकुने खुला चौर जाऔँ, विशाल जनविद्रोह घोषणासभामा सहभागी बनौँ’ शीर्षक रहेको उक्त पर्चा उपत्यकाभरि छरिएको थियो ।
यो पर्चामा सबैभन्दा माथि दुई जना पात्रहरूले हात जोडेर यस्तो आह्वान गरेका भन्ने अर्थ लाग्ने गरी फोटा राखिएका छन्, जसमा माथि पूर्वराजा ज्ञानेन्द्र र तल तीनकुनेका कमान्डर तोकिएका हाल फरार दुर्गा प्रसाईँ छन् । यो पर्चाले यी दुई जनाको आह्वानमा कार्यक्रम हुनलागेको भन्ने बुझाउँछ ।
हात जोड्दै साथ मागेको रूपमा पूर्वराजाको फोटो जसरी छापिएको छ त्यो उनको अनुमतिविना सम्भव नहुनुपर्ने हो । त्यसमाथि त्यो पर्चामा जे–जे लेखिएका छन् ती झनै गम्भीर आपत्तिका छन् । जस्तो ‘बैंकको श्रृण नतिरौँ’ भन्नेदेखि ‘भ्रष्ट नेताहरूलाई लखेट्ने हो’ भन्नेसम्म यसमा उल्लेख भएका छन् (पर्चा पढौँ) ।
त्यस्तै, त्यस दिनका लागि तीनकुनेमा बनेको मञ्चमा पनि एकातिर पूर्वराजा ज्ञानेन्द्रको र अर्कोतिर हाल फरार रहेका तिनै दुर्गा प्रसाईँको ठूलो कदको फोटोसहितको ब्यानर राखिएको थियो ।
त्यस दिन तीनकुनेवरिपरि सहभागीले यी पर्चा खातकाखात हुनेगरी त्यही सडकमा फालेका थिए । पछि जब तनाव सुरु भयो, प्रदर्शनकारीहरूले तिनै पर्चा बालेर सडकमा टायरदेखि घरमा आगो झोस्नेसम्मका काम भए । यिनै पर्चाबाट ठूला–ठूला आगजनी हुन थालेका हुन् । त्यही पर्चाको पुल्ठो बनाउँदै आगो झोस्दै र त्यसमाथि कपडा थप्दै घरभित्र हान्न थालियो जसले झण्डै आधादर्जन घर डढायो ।
यसरी आगो बालिएको घरभित्र नै थिए एक पत्रकार । रिपोर्टमा आएअनुसार राजावादीहरूले घरमा आगो लगाएपछि बाहिरबाट ढोका बन्द गरिदिए । त्यसपछि आगो निभाउन आएको दमकलमाथि पनि ढुंगासहित यी नै पर्चा गुटमुटाएर आगो बल्दै दमकलतिर पनि फाल्ने काम भयो । पछि थाहा भयो फोटो खिच्न घरभित्र पसेका पत्रकार जिउँदै जलेछन् ।
यो कुन हदसम्मको आपराधिक काम थियो भन्ने त्यसको चौथो दिन संसद्मा रेकर्ड भएका दुईवटा दस्ताबेजले पनि बताउँछन् ।
त्यसमध्येको एउटा हो, सभामुखले सदनमा राप्रपा सांसद धवलशमशेर राणा पक्राउ परेको प्रहरीको पत्र पढेर सुनाएका र दोस्रो प्रधानमन्त्रीले संसद्लाई जानकारी गराएका घटना विवरण ।
तीनकुने ताण्डवका यी विवरण संसद्को अभिलेखमा पनि चढेका छन् । त्यसमध्येको पहिले सभामुखको त्यो जानकारी जसमा राप्रपाका एक सांसदमाथि ‘गणतन्त्र नेपालको संरचनालाई पल्टाई राजतन्त्र स्थापना गर्ने भनी आपराधिक बलको प्रदर्शन वा प्रयोग गर्न लगाएर कार्यक्रमस्थल छाडेर सिधै हुल हुज्जत आगजनी गर्दै विरोध कार्यक्रममा सहभागी भएका प्रदर्शनकारीलाई प्रहरीसँग मुठभेड गर्न र निषेधित क्षेत्र तोड्न उक्साएको’ भन्ने आरोप लागेको छ ।
त्यो पत्र –
‘विभिन्न मिडिया हाउस तथा सुपरमार्केट, प्रहरी कार्यालय, सरकारी कार्यालय, संस्थान, निजी तथा सरकारी र प्रहरीका सवारीसाधन, सर्वसाधारण नागरिकको निजी घर, राजनीतिक दलका कार्यालय तथा राजनीतिक दलका नेताको निजी निवास समेत तोडफोड र आगजनी गर्नुका साथै प्रहरी कर्मचारीलाई लाठी, ढुङ्गा, विभिन्न घरेलु हतियार तथा सवारीसाधनमा जबर्जस्ती, ड्युटीमा तीनकुनेस्थित प्रदर्शनकारीको कार्यक्रमस्थलनजिकै रहेको घर, सो घरभित्र रहेका विभिन्न कार्यालय समेत तोडफोड र घरभित्र मानिस छ भन्ने कुरा थाहा जानकारी हुँदाहुँदै आगजनी गरी ज्यान मार्नेसम्मको अपराध गर्दा समेत अगुवा नेता तथा कार्यकर्ताले सो आपराधिक कार्यहरूलाई रोक्ने प्रयास नगरी उल्टै प्रदर्शनकारीलाई उक्साई उत्तेजित बनाई माथि उल्लिखित आपराधिक कार्य गरी राज्यविरुद्धको कसुर समेतको अपराध गरेको हुँदा सो कसुरमा प्रतिनिधिसभा सदस्य माननीय डा. धवलशमशेर राणालाई तलितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. १५ सातदोबाटोबाट मिति २०८१/१२/१५ गते अं. २१ः०० बजेको समयमा पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान कार्य गर्दै रहेको व्यहोरा जिल्ला प्रहरी परिसर, अपराध अनुसन्धान तथा कारवाही शाखाको प.सं.०८१/०८२, च.नं. १६१८३ मिति २०८१/१२/१६ गतेको पत्रबाट लेखि आएको हुँदा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनको लागि सदनलाई जानकारी गराउँछु ।’
दोस्रो, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस दिन तीनकुने क्षेत्रमा भएको आगजनी, लुटपाट र तोडफोडको मूल जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको भनेर दिइएका जानकारी । यो जानकारीले पूर्वराजालाई दोषी देखाएको छ । देशको कार्यकारीले संसद्मा रेकर्ड गराएपछि यी व्यक्ति कारबाहीमा पर्ने साधारण नागरिकको अपेक्षा हुन्छ ।
प्रधानमन्त्रीका अनुसार ‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट, शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनुपर्छ’ भन्दै संसद्मा बताएका मध्येको तीनकुने ताण्डवको प्रसङ्ग :
यसमा पूर्वराजा शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै बक्तव्यबाजी गरेको देखि त्यसलगत्तै ठाउँ–ठाउँमा स्वागत कार्यक्रम राख्दै भड्काउने काम सुरु गरिएको र फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो, १४ गते समाज बिथोल्न लागिपरेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनु भएको कुरा बताइएको छ ।
तीनकुने घटनाका सन्दर्भमा प्रधानमन्त्रीले संसद्मा रेकर्ड गराएअनुसार काठमाडौंको तीनकुनेमा सभाको लागि स्थान दिइएको थियो । त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र द्विविधा समेत थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशंकाका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजकमध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरूको पनि थियो ।
तर तीनकुनेका आयोजकहरूले पहिले प्रशासनलाई जाकारी गराएअनुसार सभा गरेनन्, उत्तेजक प्रदर्शन र अराजनीतिक नारासहित भीड सलबलाउन थाल्यो । सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित ‘जनकमान्डर’ आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध प्रहरीमाथि आक्रमण गर्ने, ढुङ्गामुढा गर्ने, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता वारदात सुरु गरिए ।
हुँदा–हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुङ्गामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेन्ट स्टोरहरू लुटपाट गर्नेजस्ता आपराधिक घटना सुरु गरियो । निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आतातायी कार्य भयो । अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई बिस्फोट गराउने आतङ्कारी काम समेत भयो । प्रहरीका सवारीसाधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो ।
यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट–शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनु पर्छ ।’