काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेपछि प्रहरी पक्राउ गरी भैरहवा पुर्याएको छ । प्रहरीले शनिबार भैरहवा विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय रुपन्देही पुर्याएको हो ।
लामिछानेलाई काठमाडौँको बुढानीलकण्ठस्थित हेपाली हाइटबाट नियन्त्रणमा लिएको थियो । संगठितरूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेका थिए ।
शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने प्रहरीले जनाएको छ । त्यसपछि सोमबार मात्रै अदालत पेस गरिने भएको छ । अदालतमा हाजिर भएपछि लामिछानेलाई कारागार चलान गरिने प्रहरीले जनाएको छ ।