काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारी साधनको अधिकतम मूल्यसूची प्रकाशनबारे स्पष्ट नीति आवश्यक रहेको बताएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक केदार दाहाललाई भेटी अधिकतम मूल्यसूचीबारे स्पष्ट नीति बनाउन आग्रह गरेको हो । अध्यक्ष चौधरीले विभागले चैत १४ मा वस्तुमा लेवल राख्ने सम्बन्धमा प्रकाशित गरेको सूचनामा राखिएको प्रावधानहरूमा केही अस्पष्टता रहेकाले त्यसको स्पष्टताका लागि आग्रह गरेका थिए । चौधरीले सवारी साधनको अधिकतम मूल्यसूची प्रकाशनबारे स्पष्ट नीति आवश्यक भएको बताए । स्पेयर पाट्र्समा अधिकतम मूल्यसूची राख्ने तरिका क्युआर कोडको माध्यमबाट मूल्य निर्धारण गर्ने कि अन्य कुनै तरिका अपनाउने भन्नेबारेमा प्रष्टता हुनुपर्नेमा जोड दिए ।
यस्तै, उनले ब्लकमा आउने गाडीहरूमा अधिकतम मूल्यसूची लागू गर्ने कि नगर्ने भन्ने विषयमा कानुनी स्पष्टता हुनुपर्ने, स्पेयर पाट्र्समा अधिकतम मूल्यसूची अनलाइन वा अफलाइन कस्तो ढाँचामा राख्ने, डिजिटल तथा गैरडिजिटल माध्यमबाट मूल्यसूचीलाई कसरी पारदर्र्शी बनाउने, स्पेयर पार्टसमा आउने नटबोल्टहरूमा अधिकतम मूल्यसूची के कसरी लगाउने भन्ने विषयहरूमा स्पष्टता हुनुपर्ने बताए । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले पनि यस विषयमा थप स्पष्टता आवश्यक रहेको बताउँदै डिजिटल माध्यमबाट स्पेयर पाट्र्सको मूल्य निर्धारण गर्न क्युआर कोडको प्रभावकारी प्रयोग गर्न सकिनेमा जोड दिए । यसले अनलाइन प्रणालीलाई व्यवस्थित बनाउने उनको भनाइ थियो ।
छलफलमा वाणिज्य विभागका महानिर्देशक दाहालले भौतिक वस्तु वा कमोडिटीहरूको अधिकतम मूल्य सूची प्रकाशित गर्ने अवधारणा पुरानो भए पनि यस प्रक्रियालाई अहिलेको सन्दर्भमा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । अधिकतम मूल्यसूचीलाई पारदर्शी बनाउन अधिकतम मूल्यसूची स्पष्ट देखिने गरी टाँस्नुपर्ने उनको भनाइ थियो । महानिर्देशक दाहालले डिजिटल र ननडिजिटल अधिकतम मूल्यसूचीलाई क्युआर कोडमार्फत प्रभावकारी कार्यान्वयन गरेर अनलाइन माध्यमलाई समेट्नुपर्ने बताए ।