काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट खबरद्वारा आयोजित सत्रौं कर्पोरेट बिजनेस अवाड्र्स २०२५ को लाइफ इन्स्योरेन्स विधामा बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि एयर २०२५ अवार्डबाट सम्मान गरिएको छ । यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो । काठमाडौंमा आयोजित भव्य समारोहका बीच नेपाल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त सम्मान ग्रहण गरेका हुन् ।
नेपाली बीमा कम्पनीहरूको वित्तीय विवरण, सूचकांकहरू, सुशासन दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बीमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधीकरणमा गरिएका कार्यहरू, अटोमेसन एन्ड डिजिटल ट्रान्सफरमेसनको क्षेत्रमा गरिएका कार्यहरू, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका कार्यक्रमजस्ता मापदण्डहरूलाई मूल्याङ्कन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो । कम्पनीको कार्य कुशलता, प्रभावकारिता एवं पारदर्शी नीति तथा योजना, आमजनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वोत्कृष्ट रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि एयर २०२५ बाट सम्मानित गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अवार्डबाट सम्मानित भएको अवसरमा सफलताको श्रेय सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, सम्पूर्ण कर्मचारी, अभिकर्ता, नियामक निकाय, सेयरधनीहरू तथा नेपाल लाइफसँग आबद्ध समस्त ग्राहकहरूलाई जाने बताए । यसरी नै सामूहिक सहकार्य गर्दै जीवन बीमाको महत्व तथा यसको उपयोगिताको बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बीमाको लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिल्ने अपेक्षा रहेको बताए ।