काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकको स्वायत्ततामाथि धेरै पटक हस्तक्षेप भएको बताएका छन् । नेपाल राष्ट्र बैंकद्वारा सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू २०७७–२०८१ सार्वजनिक गर्ने क्रममा शुक्रबार गर्भनर अधिकारीले उक्त कुरा बताएका हुन् । पुस्तकमार्फत गर्भनर अधिकारीले आफ्नो पाँच वर्षे कार्यकालका उपलब्धिहरू सार्वजनिक गरेका छन् ।
कार्यक्रममा गर्भनर अधिकारीले कार्यकालको दोस्रो वर्ष पुग्दै गर्दा नेपाल राष्ट्र बैंक नेतृत्वमाथि प्रहार भई केन्द्रीय बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेप भएको बताए । यस्तो अवस्थामा बैंक सञ्चालनको विश्वव्यापी मान्यताअनुरूप स्वायत्ततालाई अक्षुण राखिदिनुहुने सर्वोच्च अदालत, न्यायाधीश तथा अधिवक्ताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु’ उनले भनेका छन् । २०७८ को चैत अन्तिम साता शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको दबाबमा गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । सो निलम्बनपछि सर्वोच्च अदालत पुगेका अधिकारीलाई अदालतले पुनर्बहाली गरिदिएको थियो । सोही प्रसंगलाई अधिकारीले शुक्रबार उल्लेख गरेका हुन् ।
उनले आफूले कार्यकाल सम्हाल्दै गर्दा कोरोना महामारी त्यसलगत्तैको रुस–युक्रेन युद्धका कारण मुलुकको अर्थतन्त्रमा ठूलो चुनौती आइपरेको उल्लेख गरेका छन् । ती चुनौतीलाई केन्द्रीय बैंकले सक्दोरूपमा समाधानको पहल गरेको उनले बताए । विदेशी लगानी विविधीकरण, विदेशी विनियम व्यवस्थापन विभागको लगानी शाखामा थप समय काम गर्ने परिपाटीको सुरुवात गरिएको उनले बताए । यसले नेपाल सरकारको खातामा जम्मा हुने रकमान्तर बढेको उनको भनाइ थियो । गर्भनर अधिकारीले आफ्नो कार्यकालमा ल्याइएको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनले वित्तीय क्षेत्रलाई दीर्घकालीनरूपमा बलियो बनाउने उल्लेख गरेका छन् । ‘यो मार्गदर्शनले तत्कालीन समयमा केही व्यवसायीलाई अप्ठेरो परे पनि यसले दीर्घकालीनरूपमा वित्तीय प्रणाली र समग्र अर्थतन्त्रलाई मजबुत बनाउने छ’ गर्भनर अधिकारीले भने ।
वित्तीय क्षेत्रको प्रभावकारी नियमन र सुपरीवेक्षणको लागि असल अभ्यास अवलम्बन गरिएको अधिकारीले बताए । ‘सम्पत्ति शुद्धीकरण तथा साइबर सुरक्षासम्बन्धी सुपरीवेक्षण, भुक्तानी प्रणालीमा संलग्न संस्थाहरूको निगरानी, गैरबैंकिङ संस्थाहरूको सुपरीवेक्षणलगायतका कार्यलाई प्रभावकारी बनाइएको पनि उनले बताए ।