काठमाडौं । नेपाल र थाइल्यान्डबीच संयुक्त वाणिज्य परिषद् (जेबीसी) गठन हुने भएको छ । नेपाल उद्योग महासंघ र थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडका अध्यक्षबीच शुक्रबार बैंककमा भएको भेटवार्तामा परिषद् गठन गर्ने सहमति भएको हो ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलसहित दुवै देशका पदाधिकारीबीच भएको भेटवार्ताका अवसरमा महासंघले दुई संस्थाहरू बीच संयुक्त व्यापार परिषद् गठनको प्रस्ताव गरेको थियो । यो परिषद्ले निरन्तर संवाद, सहकार्य र व्यावसायिक अवसरहरूको खोजीको लागि समर्पित प्लेटफर्मको रूपमा काम गने महासंघका अध्यक्ष ढकालले जानकारी दिए । जेबीसीको गठन तथा थप आवश्यश्क प्रक्रिया अगाडि बढाउनका लागि महासंघका महानिर्देशक गोकर्णराज अवस्थी तथा जोइन्ट फरेन चेम्बर अफ कमर्स इन थाइल्यान्डका अध्यक्ष विवेक लिज्यान्ड लिइरभागलाई जिम्मेवारी प्रदान गरिएको छ ।
सो भेटमा महासंघ अध्यक्ष ढकालले नेपाल लगानीकर्ता र व्यवसायहरूका लागि असंख्य अवसरहरू प्रदान गर्ने उपयुक्त सम्भावनाहरूको भूमिको रूपमा उभिएको बताए । ‘संयुक्त वाणिज्य परिषद् गठनको पहलले हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउनेछ र दुवै देशहरूमा आर्थिक वृद्धिलाई अगाडि बढाउनेछ’, उनले भने । नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै कानुनहरू संशोधन तथा परिमार्जन गरिएको उल्लेख गर्दै उनले सरकारले लगानीको सुरक्षाको प्रत्याभूति गरेको अवस्थामा थाई लगानीको लागि आवश्यक सहजीकरणका महासंघले बताए ।
नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा सम्भावना रहेको जानकारी गराउँदै नेपालमा थाई व्यवसायीहरूसँग संयुक्तरूपमा लगानी गर्न सकिने उल्लेख गरे । यस्तै, उनले थाइल्यान्डका उद्योगी व्यवसायीहरूलाई नेपाल भ्रमण गर्न र नेपालले प्रस्तुत गर्ने सम्भावनाहरूको प्रत्यक्ष अवलोकन गर्न आमन्त्रण समेत गरेका थिए । थाई सरकारलाई नेपालीहरूका लागि अनअरावल भिसा दिने प्रक्रियाका लागि पहल गरिदिन पनि ढकालले थाई चेम्बर अफ कमर्स बोर्ड अफ ट्रेड अध्यक्षमार्फत आग्रह गरे । यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले संयुक्त वाणिज्य परिषद्का माध्यमबाट दुवै देशको आर्थिक विकासमा योगदान गर्न सकिने बताए । नेपालमा गरिने लगानीको सहजताका लागि महासंघले नेपाल सरकारसँग आवश्यक सहजीकरण गर्ने उनको भनाइ थियो ।
थाई चेम्बर अफ कमर्स बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले आपसी सहकार्यका लागि बोर्ड अफ ट्रेड तयार रहको बताए । उनले नेपाली नागरिकका लागि अनअराइभल भिसा प्रक्रियाका बारेमा पनि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितिमा बुधबार बैंककमा नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।