वासिङ्टन । चीनले शुक्रबार अमेरिकामाथि ३४ प्रतिशत प्रतिशोधात्मक कर लगाउने घोषणा गरेको छ । नयाँ कर अप्रिल १० देखि लागू हुनेछ । यसको दुई दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वभर टाइट फर ट्याट ट्यारिफ लगाएका थिए । यसमा चीनमाथि ३४ प्रतिशत अतिरिक्त भन्सार लगाइएको थियो । अब चीनले अमेरिकामाथि पनि त्यही कर लगाएको छ । चिनियाँ सरकारले एक विज्ञप्ति जारी गर्दै अमेरिकाको यो कदमले अन्तर्राष्ट्रिय व्यापार नियमहरूको उल्लंघन गरेको बताएको छ । यसले कानुनी अधिकार र हितलाई हानि पुर्याइरहेको र एकतर्फी दबाब दिने प्रयास भइरहेको चीनले जनाएको छ ।
चिनियाँ सामानमा ५४ प्रतिशत कर
जनवरीमा सत्तामा फर्किएदेखि, ट्रम्पले चीनबाट हुने सबै आयातमा दुई पटक १० प्रतिशतको अतिरिक्त भन्सार लगाएका छन् । ह्वाइट हाउसले चीनबाट अमेरिकामा गैरकानुनीरूपमा फेन्टानिल प्रवाह रोक्न यो कदम आवश्यक भएको बताएको छ । यसको अर्थ अब अमेरिकामा आउने चिनियाँ सामानहरूमा ५४ प्रतिशतको कुल भन्सार कर लागू भएको छ ।
यसको जवाफमा चीनले पनि अमेरिकाबाट आउने सामानमा अमेरिकाले बढाएको शुल्क जति नै कर लगाउन थालेको हो । चीनले ११ वटा अमेरिकी कम्पनीहरुलाई अविश्वसनीय घोषणा गरेको छ । जसमा ड्रोन उत्पादन गर्ने कम्पनीहरु पनि छन् । यसबाहेक १६ वटा अमेरिकी कम्पनीहरुमाथि निर्यात नियमहरु पनि लगाएको छ । जसले चीनमा दोहोरो प्रयोगका सामानहरु निर्यात गर्न गाह्रो हुनेछ ।
भन्सार ट्यारिफ भनेको एक प्रकारको सीमा शुल्क वा कर हो । जसले कुनै पनि देशले विदेशबाट आउने सामानहरुमा लगाउँछ । यो कर आयातकर्ता कम्पनीमाथि लगाइन्छ । यसलाई बढाएर वा घटाएर देशहरुले आपसमा ब्यापार नियन्त्रण गर्छन् ।
अमेरिकी सेयरबजार प्रभावित
राष्ट्रपति ट्रम्पले आयातमा व्यापक शुल्क लगाउन थालेपछि सेयरबजारमा भारी गिरावट भएको छ । गत बिहीबार अमेरिकी सेयरबजारमा सन् २०२० पछिकै सबैभन्दा ठूलो गिरावट भएको थियो । बिहीबार मात्रै एसएन्डपी ५०० चार दशमलव ८४ प्रतिशत घट्यो । यस्तै डाउ जोन्स तीन दशमलव ९८ प्रतिशत, नास्ड्याक कम्पोजिट पाँच दशमलव ९७ प्रतिशतले घट्यो । यो गिरावटले ट्रम्पको भन्सार ट्यारिफ वृद्धिको नीतिले अमेरिकी सेयरबजारमा ठूलै धक्का पुग्ने सम्भावना देखिन्छ ।