काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूले सरकारी ऋणपत्रमा लगानी घटाउँदै गएको देखिएको छ । सरकारी ऋणपत्र लगानीको लागि सबैभन्दा सुरक्षित उपकरण भए पनि ब्याज आम्दानी खासै नहुने भएकाले बैंकहरूले पछिल्लो समय यस्तो ऋणपत्रमा लगानी घटाएका हुन् । गत आवमा सात महिनामा बैंकिङ क्षेत्रमा बचतको चार दशमलव ४२ प्रतिशत, मुद्दतीमा नौ दशमलव ५१ प्रतिशत र कल खातामा एक दशमलव ८३ प्रतिशत ब्याजदर रहेको थियो । तर चालू आवको पछिल्लो सात महिनाको अवधिमा यस्तो ब्याजदर घटेर बचत, मुद्दती र कलमा क्रमशः तीन दशमलव ३६, छ दशमलव ३२ र एक दशमलव २५ प्रतिशत ब्याजदर कामय भएको छ । सोअनुसार घट्दो ब्याजदरको प्रभाव सरकारी ऋणपत्रमा पनि देखिएको हुँदा बैंकहरूले सरकारी ऋणपत्रमा लगानी घटाएका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ५४ वटा संस्थाले ६७ खर्ब ३१ अर्ब ७९ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । उक्त निक्षेपमध्येबाट १७ दशमलव २७ प्रतिशत लगानी सरकारी ऋणमा रहेको छ । गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरूले ६१ खर्ब ५३ अर्ब १५ करोड ९० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको मध्येबाट १८ दशमलव ४९ प्रतिशतका दरले हुनआउने रकम सरकारी ऋणपत्रमा लगानी गरेका थिए ।
राष्ट्र बैंकका अनुुसार चालू आवको पछिल्लो सात महिनाको अवधिमा वाणिज्य बैैंकहरूले मात्र ६० खर्ब एक अर्ब ६१ करोड ५० लाख रुपैयाँबराबरको निक्षेप सङ्कलन गरेका छन् ।
जसमध्येबाट वाणिज्य बैंकहरूले १७ दशमलव ६३ प्रतिशतका दरले हुनआउने रकम सरकारी ऋणपत्रमा लगानी गरेका छन् । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरूले ५४ खर्ब ४३ अर्ब १४ करोड ८० लाख रुपैयाँबराबरको निक्षेप सङ्कलन गरेका थिए । उक्त निक्षेपमध्येबाट वाणिज्य बैंकहरूले १८ दशमलव ७३ प्रतिशतका दरले आउने रकम सरकारी ऋणपत्रमा लगानी गरेका थिए । विकास बैंकहरूले भने चालू आवको पछिल्लो सात महिनाको अवधिमा छ खर्ब तीन अर्ब ५१ करोड ५० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । उक्त निक्षेपमध्येबाट विकास बैंकहरूले सरकारी ऋणपत्रमा गरेको कुल लगानी १४ दशमलव ५९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने विकास बैंकहरूले पाँच खर्ब ८९ अर्ब २९ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका थिए । जसमध्येबाट विकास बैंकहरूले सरकारी ऋणपत्रमा मात्र गरेको लगानी १६ दशमलव २३ प्रतिशत रहेको थियो ।
फाइनान्स कम्पनीहरूले भने चालू आवको पछिल्लो सात महिनाको अवधिमा एक खर्ब २६ अर्ब ६६ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । जसमध्ये सरकारी ऋणपत्रमा मात्र भएको कुल लगानी १३ दशमलव शून्य तीन प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले एक खर्ब २० अर्ब ७२ करोड १० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेका थिए । उक्त निक्षेपमध्ये सरकारी ऋणपत्रमा मात्र भएको कुल लगानी १८ दशमलव ६६ प्रतिशत रहेको थियो ।