काठमाडौं ।स्वास्थ्य बीमाको भुक्तानी दायित्व १६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । स्वास्थ्य बीमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थितिपत्र सार्वजनिक गर्दै चालु आर्थिक वर्षको फागुन मसान्तमा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सो रकम बराबरको भुक्तानी दायित्व पुगेको जानकारी दिएको हो ।बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले आम्दानीभन्दा भुक्तानी दायित्व बढी भएको जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमा कोषमा बीमितबाट प्राप्त हुने रकम र नेपाल सरकारबाट प्राप्त हुने रकम मात्र जम्मा हुने गरेको छ । बोर्डले अन्य स्रोतबाट आम्दानी प्राप्त गर्न सकेको देखिँदैन । चालु आर्थिक वर्षको फागुन मसान्तमा बोर्डमा जम्मा एक अर्ब रुपैयाँ मात्रै छ । तर भुक्तानी दिनुपर्ने रकम भने १६ अर्ब ४५ करोड पुगेको उनले बताए । आम्दानी र खर्चबीचको अन्तर निरन्तर फराकिलो हुँदै गएकाले बोर्डको विश्वसनियता तथा वित्तीय दिगोपना कायम राख कठिन देखिएको बोर्डका निर्देशक काफ्लेको भनाइ छ । ‘चालु आर्थिक वर्षमा बोर्डले जम्मा २६ अर्ब ५९ करोडको बजेट स्वीकृत गरेको छ, तर प्राप्त हुने रकम स्वीकृत बजेटकोे एकतिहाइ मात्र हुने देखिन्छ’, उनले भने । कोषमा आम्दानीका सीमित स्रोत र घाटा बजेटले समस्या देखिएको उनले बताए ।
काफ्लेका अनुसार स्वास्थ्य बीमा कोषमा बढ्दो दायित्व र प्रत्येक वर्ष कोषले घर भाडाबापत दुई करोड ३४ लाख भुक्तानी दिँदै आएको छ । कार्यरत कर्मचारीको तलब भत्ता तथा दर्ता सहयोगी प्रोत्साहनबापत वर्षेनि करोडौं भुक्तानी गर्ने गरेको र जुन निरन्तर बढ्दै गएको छ । ‘सेवा प्रदायकलाई भुक्तानी दिने रकम मासिक करिब दुई अर्ब थपिने गर्छ । अन्य प्रशासनिक खर्च पनि नियमित ढंगबाट बढेको देखिन्छ । यसबाट स्वास्थ्य बीमा कोषमा आम्दानी र खर्चबीचको अन्तर निरन्तर बढ्दै गएको छ’, काफ्लेले भने, ‘बेरुजु बढ्दो छ । महालेखा परीक्षकको कार्यालयबाट प्राप्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०÷८१ को अन्तिम लेखापरीक्षणको अवधिसम्म बोर्डको बेरुजु दुई अर्ब ८५ करोड २४ लाख ८९ हजार चार सय ९५ रुपैयाँ रहेको छ । बोर्डको वार्षिक आन्तरिक आम्दानीको ७५ प्रतिशत बेरुजु देखिनु आफैँमा चुनौतीपूर्ण छ । बेरुजु फछ्र्यौट गर्नेतर्फ थप मेहनत गर्नुपर्ने देखिन्छ ।’
स्वास्थ्य बीमामा प्रतिपरिवारले गर्ने औसत प्रिमियम भुक्तानी तीन हजार आठ सय रुपैयाँ रहेको भन्दै उनले स्वास्थ्य बीमाबाट प्रतिपरिवारले लिएको सेवाको औसत भुक्तानी आठ हजार तीन सय ५० रुपैयाँ देखिएको बताए । सेवा लिनेको दरमा समानता, कुल संख्यामा असमानता रहेको काफ्लेको भनाइ छ । आर्थिक तथा सामाजिक दृष्टिमा पछाडि परेका प्रदेशहरूमा बीमामा सहभागिता निकै कम रहेको उनले जानकारी दिए । त्यहाँ सेवा लिनेको संख्या पनि निकै कम र यसैगरी उक्त प्रदेशका बहुसंख्यक नागरिक स्वास्थ्य बीमामा समेटिन बाँकी रहेको उनले बताए । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रम हाल ७७ जिल्लाका सात सय ४९ वटा स्थानीय तहमा विस्तार भएको छ ।
हालसम्म कुल ८९ लाख ५२ हजार एक सय ३५ जना व्यक्ति स्वास्थ्य बीमामा आबद्ध भएका छन् । आर्थिक वर्ष २०८१÷८२ को फागुन मसान्तसम्ममा क्रियाशील बीमितको संख्या ५७ लाख ५३ हजार आठ सय १७ रहेको छ, जुन कुल जनसंख्याको २० प्रतिशत हो । सोमध्ये सामान्य क्रियाशील बीमित ४३ लाख दुई हजार सात सय नौ अर्थात् कुल बीमितमध्ये ७५ प्रतिशत र क्रियाशील लक्षित बीमित १४ लाख ५१ हजार एक सय अर्थात् २५ प्रतिशत रहेका छन् । क्रियाशील बीमितको संख्या विश्लेषण गर्दा अझै पनि ८० प्रतिशत नागरिकलाई समेट्न थप मेहनत गर्नुपर्ने देखिएको बोर्डले जनाएको छ ।