भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न र प्रमाणपत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गरेकाले कम्पनीले आईएसओ ९००१–२०१५ प्राप्त गरेको हो ।बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एन्ड सर्भिसेजको बोर्डले भिजन लुम्बिनीको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियोजनाको विकास तथा डिजाइन, निर्माणलगायतको मूल्याङ्कन गरेर प्रमाणपत्र प्रदान गरेको कम्पनीका कार्यकारी निर्देशक जगत पोखरेलले जानकारी दिए । काठमाडौंको बुद्धनगरस्थित बुटवल पावर कम्पनीको भवनमा कार्यालय रहेको कम्पनीले प्रमाणपत्र ग्रहणका लागि आइतबार एक विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा निर्देशक पोखरेलले कम्पनी सञ्चालनमा विश्वस्तरको मूल्यमान्यता र मापदण्डहरू पालना गर्न प्रतिबद्ध रहेको बताए । धेरै जनाको लगानी रहेको कम्पनी भएकाले पनि यस कम्पनीले पारदर्शिता र सुशासनलाई केन्द्रमा राखेको उनको भनाइ थियो ।कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष गणेश कार्कीले भिजन लुम्बिनी ऊर्जा कम्पनीले झैँ सबै ऊर्जा कम्पनीहरूले यस्तो प्रमाणपत्र लिनुपर्नेमा जोड दिए । ऊर्जा कम्पनीहरूले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने प्रवृत्तिको विकास गरियो भने ऊर्जा क्षेत्रमा देखिएको आशंका र आलोचनालाई न्यूनीकरण गर्न सहयोग गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रमाणपत्र प्रदान गर्नका लागि मूल्याङ्कनको जिम्मेवारी लिएको संस्थाका प्रतिनिधि सन्तोष गिरीले तीन महिनासम्म कम्पनीको सर्वपक्षीय मूल्याङ्कन गरेर मात्रै अन्तर्राष्ट्रिय गुणस्तर चिह्न र प्रमाणपत्र प्रदान गरिएको जानकारी दिए ।भिजन लुम्बिनी ऊर्जा कम्पनी सेतीखोला जलविद्युत् परियोजना सम्पन्न गर्दा अन्य परियोजनाको तुलनामा निकै छिटो काम सम्पन्न गरेको, मितव्ययी र पारदर्शी भएको, सामान्य नागरिकलाई पनि विद्युत् परियोजनाको मालिक बनाएको, कुनै विवाद र अवरोधविना काम सम्पन्न गरेकोलगायतका विशेषता भएको कम्पनीको रूपमा चिनिँदै आएको परियोजनाका प्रमुख व्यवस्थापक कुसल क्षेत्रीले बताए ।