काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा तथा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवहरुसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड
दिइएको छ ।
छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौंमा जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो । बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाकोे कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्नसक्ने माग तथा गुणस्तरीय शिक्षाको सुनिश्चिततालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि काठमाडौंकेन्द्रित प्रदर्शन गरिरहेका छन् । सोही क्रममा शिक्षकहरुले सोमबार कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । सोमबार उनीहरुले माइतीघरदेखि बानेश्वरसम्म कालो मास्क लगाएर जुलुस निकालेका हुन् । उनीहरूले काठमाडौंको माइतीघरदेखि कालो मास्क लगाएर मौन हुँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।काठमाडौं ।