काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा यही चैत्र १९ गते संखुवासभा जिल्लाको पाँचखपन नगरपालिकाको सभाहलमा कृषि तथा पशुपन्छी बीमासम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका अनुसार उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा पाँचखपन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको प्रमुख आतिथ्यता सञ्चालन गरिएको थियो । कार्यक्रम सञ्चालन भने खादबारी शाखा प्रमुख दुर्गा प्रसाद गौतमले गरेका थिए ।
नगरपालिका कृषि तथा पशु प्रविधिक, अन्य कर्मचारीहरू, सहकारी प्रतिनिधि तथा अगुवा कृषकहरू गरी जम्मा ५३ जना उपस्थिति रहेको उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कृषि तथा पशुपन्छी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपन्छी बीमा प्रक्रिया, दाबी सम्बन्धमा साथै कृषि बीमाको नयाँ सफ्टवेयर र अभिकर्ता प्रविधिकको कृषि बीमामा आवश्यक भूमिकाबारे महत्वपूर्ण जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले प्रत्येक किसानलाई बीमासँग आबद्ध गराउनुपर्ने, साथै पालिकाले पनि आवश्यक सहजीकरण गर्दै लैजाने बताए । संखुवासभामा निर्जीवन बीमाको अवस्था र आवश्यक्ताका बारेमा बोल्दै कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमले कम्पनीले बीमाको दायरा बढाई थप विस्तार गरेर किसानको पहुँचसम्म पुर्याउने काम कम्पनीले गर्ने बताए । उपस्थित किसानहरूले बीमा आजको आवश्यकता रहेको र यस सचेतना कार्यक्रमले बीमासम्बन्धी प्रष्ट पारेको बताएका थिए । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजना र भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका वडा नं. १ को समन्वयमा २०८१ चैत्र १७ गते वडा नं. १ को कार्यालय श्यामशिलामा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता रहेको कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष श्री राजेन्द्र कुमार तामाङको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो । कार्यक्रम सञ्चालन भने भोजपुर शाखा प्रमुख सन्तोष तिवारीले गरेको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा मुख्य वक्ताको रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कृषि विभाग प्रमुख उमेश ढकाल रहेका थिए ।
कार्यक्रममा बीमा कसरी गर्ने, कहाँ गर्ने, किन गर्नेसहितको विस्तृत जानकारी र दाबीको समयमा क्षतिपूर्ति लिने आवश्यक प्रक्रियाका बारेमा जानकारी गराइएको थियो । वडा सदस्य, नगर कार्यपालिका सदस्य, कृषक तथा कर्मचारी गरी कुल ६५ सहभागी रहेको कार्यक्रममा बीमाका माध्यमबाट सुरक्षाको प्रत्याभूति दिलाउनका साथै नेपाल सरकारद्घारा जारी गरिएको सफ्टवेयर प्रणालीमार्फत बीमालेख जारी गर्ने प्रक्रियाका बारेमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा उपस्थित सहभागीहरूले नियमितरूपमा बीमा गर्न सके आर्थिक पक्ष सबल भई निर्वाहमुखी खेती प्रणालीबाट व्यावसायिक बन्न सकिने धारणा राख्दै कार्यक्रम सम्पन्न भएको थियो । कृषि ज्ञान केन्द्र भोजपुर आयोजना र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको समन्वयमा मिति २०८१ चैत्र १८ गते कृषि ज्ञान केन्द्र भोजपुरको सभाहलमा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।