दोलखा । जिल्लाको जिरी नगरपालिकास्थित गुराँस पार्कमा ढकमक्क गुराँस र चिमाल फुलेका छन् । विभिन्न जातको लालीगुराँस तथा चिमाल पाइने गुराँसपार्क यतिबेला रंगीविरंगी फूल फुलेर ढकमक्क भएको छ । फागुन चैत्रतिर ढकमक्क गुराँस फुल्दा यहाँको वातावरण निकै मनमोहक हुनेगर्छ ।
जिरी नगरकै प्रमुख पर्यटक क्षेत्रको रूपमा विकास गरिएको पार्कमा थरीथरीका गुराँस र चिमालसँगै मनमोहक वातावरणमा चौँरी गाईहरू चरिरहेको भेटिन्छन् । उसो त छिनछिनमा मौसम परिवर्तन हुने जिरीमा झन् चैत–वैशाखको पारिलो मौसममा फुलेका यी फुलहरू र पार्क वरपर चरणमा निस्केका चौँरी त्यहाँ पुग्ने जोकोहीले सरप्राइजको रूपमा लिने गर्छन् । यस ठाउँलाई अझ रोमाञ्चक बनाउन नगरपालिकाले ठूलो कृतिम पोखरी, ट्रस्टको टहरा, ट्वाइलेट पिकनिक स्पटलगायतका संरचना बनाएको छ ।
समुन्द्री सतहदेखि करिब २७ सय मिटर उचाइमा रहेकोे गुराँसपार्क जिरी नगरपालिकाको ठूलोनागी वनक्षेत्रमा एउटा चौर हो । यो चौर वरपर थरीथरीका विभिन्न रंगीचंगी गुराँस र चिमालका मात्रै रुखहरू छन् । यहाँ आन्तरिक पर्यटकहरू पिकनिक तथा हाईकिङ, क्याम्पिङसँगै गुराँसका फुल तथा स्थानीय चौँरी चरणको अवलोकन गर्ने पुग्नेगर्छन् । जिरी नगरपालिका हाटडाँडा हुँदै बुद्ध पार्कबाट जिरी नगरको अवलोकन गरेपछि त्यहीँबाट करिब तीन किलोमिटर सडक यात्रा गरेर सो पार्कमा पुग्न सकिन्छ ।
जिरी नगरपालिकाले हाल जिरी भ्रमण वर्ष मनाइरहेको छ । नगरले यो पार्कलाई नगरपालिकाकै प्रमुख स्थानीय पर्यटकीय स्थलको रूपमा आगन्तु पर्यटकलाई घुम्न जान विभिन्न कार्यक्रमहरू गरिरहेको जनाएको छ । नेपालको स्विट्जरल्यान्ड भनेर जिरीमा धेरैले भ्रमण गरिरहेका छन् । पहिलो सफल सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले जिरी हुँदै सगरमाथाका आरोहण गरेपश्चात हजारौँ पर्यटकहरूले यही मार्ग हुँदै सगरमाथाको शिखर चुमिसकेका छन् । जिरी बजार कुनै समयमा सगरमाथाको प्रवेशद्वारका रूपमा परिचित थियो । यहीँबाटो हुँदै सोलुखुम्बु र सगरमाथा जाने पर्यटक र भरियाहरूको लस्कर नै लाग्ने गथ्र्यो । तर हिजोआज यस क्षेत्रमा आउने विदेशी पर्यटकको संख्यामा कमी आए पनि स्वदेशी पर्यटक भने जिरी घुम्न प्याकेज नै बनाएर आउने गरेका छन् ।
जिरीमा दर्जनौँ पर्यटकीय स्थल तथा धार्मिक स्थलहरू रहेका छन् । पाँचपोखरी, जट्टापोखरी, क्याङसे पोखरी, जिरी क्षेत्रका मुख्य पोखरी हुन् । त्यसैगरी च्योर्दोङ, जिरेश्वरी, रामबोले, हनुमन्ते यहाँका मुख्य धार्मिक स्थल हुन् । नगरले निर्माण गरेका गुराँस पार्क, स्टोन पार्क, बुद्धपार्क, तेन्जिङहिलारी पार्क र टोनीहेगन पार्क जिरीका मुख्य पर्यटक घुम्ने पार्कहरू हुन् । जिरीको विशेषता र परम्परा पनि छुट्टै रहेकोे छ । जिरेल र शेर्पा समुदायको मुख्य बसोबास रहेकोे जिरीमा जिरेल तथा शेर्पा समुदायका अनेकौँ रीतिरिवाज परम्परा तथा सांस्कृतिक देख्न पाइन्छ । जिरीमा उत्पादन हुने छुर्पी, चिज तथा सिंलमा यहाँका विशेष कोसेली हो । जिरीमा अन्य थुप्रै पर्यटकीय स्थल तथा धार्मिक मठमन्दिर र गुम्बाहरू समेत रहेका छन् ।