काठमाडौं । पाँचौ ताम्राकार फुटसल प्रतियोगिताका विजेता बिके सुनचाँदी पसलले छैटौं संस्करणमा उपाधि रक्षा गर्न सफल भएको छ ।
छैटौं संस्करणको फाइनलमा बिके सुनचाँदीले ओरियन इलेक्ट्रिकललाई ट्राइबेकरमा २–१ गोलले पराजित गरेको हो । सेमिफाइनलमा बिके सुनचाँदीले मिलन ज्वेलर्सलाई २–० गोल अन्तरले तथा ओरियनले तिच्छुंगल्ली स्टोरलाई ट्राइबेकरमा ३–२ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिताका टप स्कोरर तथा उत्कृष्ट खेलाडी बिके सुनचाँदीका आशीष ताम्राकार, उत्कृष्ट किपर बिके सुनचाँदीकै शंकर ताम्राकार, प्रेसिडेन्सियल च्वाइस अवार्डमा ओरियनका सानिध्य चित्रकार भएका छन् । त्यस्तै, अन्डर १४ प्रतियोगितामा ग्रेस वारियर्सले ताम्राकार अस्ट्रेलिया टाइटनलाई २–० गोलले पराजित गरेका छन् । विजेता तथा उपविजेता खेलाडीहरूलाई ललितपुरका संघीय सांसद एवं पूर्वमन्त्री डा तोसिमा कार्की, ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकार, निवर्तमान अध्यक्ष रविन्द्रराज ताम्राकार, युवा तथा खेलकुद उपसमितिका संयोजक अनिश ताम्राकारलगायतले मेडल, ट्रफी तथा पुरस्कार वितरण गरेका थिए ।
ताम्राकार फुटसल प्रतियोगिताको छैठौँ संस्करण यही चैत्र १६ र २३ गते शनिबारका दिन सानेपास्थित फिल्ड फुटसल ग्राउन्डमा सम्पन्न भएको हो । ललितपुरका विभिन्न समाजका खेलाडीहरूको सहभागी रहेकोे उक्त प्रतियोगितामा खेलाडीहरूलाई जुजु वेयर्सद्वारा जर्सी प्रायोजन गरिएको थियो । प्रतियोगिताको लागि विभिन्न छ वटा उद्योग र कम्पनीहरूले टिमको प्रायोजन गरेका थिए ।
प्रायोजन गरेका कम्पनीकै नामबाट टिमको नाम कायम रहेको उक्त प्रतियोगितामा ललितपुरका विभिन्न समाजका सत्तरीभन्दा बढी खेलाडीहरूले सहभागिता जनाएका थिए । टिम प्रायोजन गर्ने उद्योग र कम्पनीहरूमा विके सुनचाँदी पसल, तिच्छुगल्ली स्टोर्स, दिल ह्यान्डीक्राफ्ट, ओरियन इलेक्ट्रिकल, मिलन ज्वेलर्स र उग्रचण्डी पार्टी भेन्यु रहेका छन् । विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गरेका छन् । विजेता तथा उपविजेता टोलीलाई स्वर्गीय मोहन दास ताम्राकारको परिवारले नगद पुरस्कारको प्रायोजन गरेका थिए ।