काठमाडौँ । सुकेधारास्थित पाँचतारे होटल मर्क्युर काठमाडौँले क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको क्यान्सर केयर नेपाललाई आर्थिक सहयोग गरेको छ ।
मर्क्युर सञ्चालक देशबन्धु बस्नेतले सोमबार यहाँ आयोजित एक कार्यक्रममा संस्थाका मानार्थ अध्यक्ष अभिनेत्री मनिषा कोइरालालाई सहयोगस्वरुप पाँच लाखको चेक हस्तान्तरण गरेका छन् । अभिनेत्री कोइरालाले सहयोगका लागि धन्यवाद दिँदै क्यान्सरपीडितका लागि उक्त सहयोग उपलब्धिमूलक र महत्त्वपूर्ण हुने बताइन् ।
“यस संस्थाले लामो समयदेखि क्यान्सरपीडित भई आर्थिक रूपले कमजोर भएकाहरूलाई उपचारका क्षेत्रमा सहयोग गर्दै आएको छ”, अभिनेत्री कोइरालाले भनिन, “होटल मर्क्युर काठमाडौँले गरेको यो सहयोगले आगामी दिनमा क्यान्सरविरुद्धको लडाइँमा उहाँहरूलाई सहयोग र हौसला पुगेको छ ।”
अन्तरराष्ट्रिय क्यान्सर अस्पताल बनाउन खरिद गरिएको जग्गामा अहिले होटल स्थापना भएको बताउँदै सञ्चालक बस्नेतले क्यान्सरपीडितका लागि सहयोग गर्न पाउँदा आफू उत्साहित भएको उल्लेख गरे । क्यान्सरपीडितको उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको छ । उनले आगामी दिनमा पनि क्यान्सरपीडितको सहयोगका लागि संस्थासँग सहकार्य गर्ने बताए ।
क्यान्सर केयर नेपालका अध्यक्ष डा. मदनकुमार पियाले लामो समयदेखि आर्थिक रूपमा उपचार गर्न नसक्ने क्यान्सरपीडितका लागि संस्थामार्फत निःशुल्क उपचारमा सहयोग गर्दै आएको बताए । उनले भने, “आर्थिक रूपमा कमजोर भएकाहरू जसले क्यान्सरको उपचार गर्न सक्दैनन्, वा उपचारलाई बीचमै छाड्न बाध्य हुन्छन्, उहाँहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले काम गरिरहेको छ ।”
२०६५ सालमा स्थापना भएको क्यान्सर केयर नेपाल क्यान्सरपीडितको उपचारका साथै आमनागरिकमा क्यानसर र जनस्वास्थ्यका बारेमा जनचेतना फैलाउँदै आएको छ ।