धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार मधेश प्रदेशसभालाई सम्बोधन गर्दै संविधान संशोधन उपयुक्त समयमा हुने बताएका छन् । उनले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउनका लागि उचित समयमा संविधान संशोधन हुने स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले भने, “राजतन्त्र फेरि ल्याउने भनेर केहीकेही लागेका छन् । विगतमा निरङ्कुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रम दिन खोजेका छन् । हामीले नयाँ पुस्ता सचेत बनाउनुपर्छ । आजको सचेत समाजले त्यस्तो सामन्ती व्यवस्था स्वीकार्न सकिँदैन । गणतन्त्र यस देशको वर्तमान र भविष्य हो । प्रतिपक्षी पनि विद्यमान व्यवस्थाको पक्षमा रहनु खुसीको कुरा हो ।”
अनावश्यक हल्ला चलाइएको भए पनि दुई छिमेकीसँग हाम्रो राम्रो सम्बन्ध रहेको बताउदै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको सङ्घर्षको जगमा ल्याइएकाले यस व्यवस्थालाई सुव्यवस्थित बनाएर अगाडि बढाउने काम सबैको भएको उल्लेख गरे ।
राजतन्त्र समान्ती प्रणाली भएकाले नयाँ पुस्तालाई राजतन्त्रको बारेमा जानकारी नभएको बताउदै प्रधानमन्त्री ओलीले यो प्रणाली उत्तम रहेको र यसै प्रणाली मार्फत प्रदेशसभासहितका संरचना निमार्ण भएको बताए । देशका समस्या समाधानका लागि कांग्रेस एमालेको वर्तमान समीकरण निमार्ण भएको प्रधानमन्त्री ओलीले प्रष्ट पारे ।
मधेश प्रदेशलाई नमुना प्रदेशको रूपमा विकास गर्नु पर्ने भन्दै प्रधानमन्त्री ओलीले मधेश प्रदेश सरकारले सामाजिक सुधारका कामलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्नेमा जोड दिँए । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह सहितका प्रदेश सरकारका मन्त्रीले जनकपुरधाम विमानस्थालमा उनलाई स्वागत गरेका थिए ।