काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले खुद मुनाफा घटेर लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगे पनि सञ्चालन खर्च न्यूनीकरण गर्न सकिरहेका छैनन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक आर्थिक वर्षको पहिलो सात महिना (साउन–माघ)मा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीको तलब–भत्ता र कार्यालय व्यवस्थापनका लागि ६२ अर्ब छ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् ।
तथ्याङ्कअनुसार बैंकहरूले तलब र भत्तामा ३७ अर्ब ५३ करोड ५० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनका लागि २४ अर्ब ५३ करोड ३० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन अर्ब नौ करोड ५० लाख रुपैैयाँ बढी हो । गत आर्थिक वर्षको पहिलो सात महिनामा बैंक तथा वित्तीय संस्थाले तलब–भत्तामा ३५ अर्ब ५३ करोड २० लाख रुपैयाँ र कार्यालय व्यवस्थापना २३ अर्ब ४४ करोड १० लाख रुपैयाँ गरी कुल ५८ अर्ब ९७ करोड ३० लाख रुपैयाँ खर्च गरेका थिए ।
वाणिज्य बैंकहरूले मात्र चालू आर्थिक वर्षको माघ मसान्तसम्म कर्मचारीहरूको तलब र भत्ताको लागि ३३ अर्ब तीन करोड ७० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनका लागि २१ अर्ब २१ करोड १० लाख रुपैयाँ गरी कुल ५४ अर्ब २४ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई अर्ब ७८ करोड २० लाख रुपैयाँले बढी हो । गत वर्ष सात महिनामा तलब–भत्ताको लागि ३१ अर्ब २५ करोड ८० लाख र कार्यालय व्यवस्थापनको लागि २० अर्ब २० करोड ८० लाख रुपैयाँ गरी कुल ५१ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खर्च गरेका थिए ।
विकास बैंकहरूले यस आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म तलब–भत्तामा तीन अर्ब ५७ करोड ८० लाख र कार्र्यालय व्यवस्थापनमा दुई अर्ब ६५ करोड २० लाख रुपैयाँ गरी कुल छ अर्ब २३ करोड रुपैयाँ खर्च गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ करोड ४० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले कर्मचारीहरूको पारिश्रमिकका लागि तीन अर्ब ४२ करोड ८० लाख र कार्यालय व्यवस्थापनको लागि दुई अर्ब ५७ करोड ८० लाख रुपैयाँ गरी कुल छ अर्ब ६० लाख रुपैयाँ खर्च गरेका थिए ।
फाइनान्स कम्पनीहरूले भने चालू आर्थिक वर्षको पहिलो सात महिना तलब–भत्ता ९२ करोड र कार्यालय सञ्चालनका लागि ६७ करोड रुपैयाँसहित कुल एक अर्ब ५९ करोड रुपैयाँ खर्च गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ करोड ८० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले तलब–भत्ताका लागि ८४ करोड ६० लाख र कार्यालय व्यवस्थापनको लागि ६५ करोड ६० लाख रुपैयाँ गरी कुल एक अर्ब ५० करोड २० लाख रुपैयाँ खर्च गरेका थिए ।