काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले एकै पटक १३ वर्षको अर्थात् आर्थिक वर्ष २०६७/०६८ देखि ०७९/८० सम्मको वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कम्पनीका अनुसार सञ्चालक समितिका अध्यक्ष तिलकबहादुर रानाभाटको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।
कम्पनीलाई नेपाल राष्ट्र बैंकले २०६९ सालमा समस्याग्रस्त संस्था घोषणा गरी सामान्य बैकिङ कारोबारमा रोक लगाएपश्चात कम्पनीको साधारणसभा हुन सकेको थिएन । आफ्नो वित्तीय अवस्थामा सुधार ल्याई बाँकी रहेका लेखा परीक्षण कार्य सम्पन्न गरी राष्ट्र बैंकको स्वीकृतिपश्चात कम्पनीले सोमबार एकैपटक कम्पनीको १०औँ, ११औँ, १२औँ, १३औँ, १४औँ, १५औँ, १६औँ, १७औँ, १८औँ, १९औँ, २०औँ, २१औँ र २२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले विगत १३ आर्थिक वर्षको वित्तीय विवरण पारित, लेखा परीक्षक नियुक्तिको अनुमोदन, सञ्चालक समितिमा भएको परिवर्तन र कामकारबाहीको अनुमोदन, ऋण असुलीका कार्यहरूको अनुमोदन, संस्थाको नाम परिवर्तन गर्ने साथै गाभिने वा प्राप्तिसम्बन्धी विषयहरूलाई सर्वसम्मतरूपमा पारित गरेको छ । त्यस्तै, संस्थाको विनियमावलीको व्यवस्थाबमोजिम सम्पन्न निर्वाचनमा संस्थापक सेयरधनीबाट तिलक बहादुर रानाभाट, जगतराज खनाल र रञ्जन रायमाझी तथा सर्वसाधारण सेयरधनीबाट निर्मल दाहाल र मोहन खड्का निर्विरोध निर्वाचित भएका छन् । संस्थाको स्वतन्त्र सञ्चालकमा राजेश्वर श्रेष्ठ रहेका छन् ।
सभामा हालसम्म भएका कामकारबाही र संस्थाको वित्तीय अवस्थाको सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत प्रदीप भट्टराईले विस्तृतरूपमा प्रकाश पारेका थिए । उनले वित्तीय अवस्थामा थप सुधार गरी संस्थालाई अघि बढाउन संस्थागत सुशासन, जोखिम व्यवस्थापनलगायतका कार्ययोजनासहित नेपाल राष्ट्र बैंकमा समस्याग्रस्त संस्थाबाट फुकुवाका लागि पेश गर्ने र संस्थालाई सामान्य बैंकिङ कारोबार गर्दै अघि बढाउने लक्ष्यका साथ क्रियाशील रहेको जानकारी गराए ।