काठमाडौं । पठाओ नेपालले नयाँ वर्षको अवसरमा ‘पठाओ पार्सल डेलिभरी महोत्सव– न्यु इयर बोनाञ्जा’ सुरु गरेको छ । ‘सस्तो दर, भरपर्दो डेलिभरी’ भन्ने नारासहित वैशाख १७ गतेसम्म महोत्सव सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
महोत्सवका अवसरमा कम्पनीले काठमाडौं उपत्यकाभित्र रहेका व्यावसायिक व्यापारीलाई लक्षित गरी विभिन्न उपहार र योजना ल्याएको हो । पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले नेपालको प्रमुख चुनौती नै लजिस्टिक्स रहेकोले कम्पनीले त्यो चुनौतीलाई समाधान गर्दै साना व्यवसायको पहुँच मुुलुकभर विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिइन् । कम्पनीले यस अभियानलाई लजिस्टिक्स क्षेत्रलाई आधुनिकीकरण गर्दै व्यवसायलाई सशक्त बनाउने एक अवसरको रूपमा लिएको जनाएको छ ।
पठाओको नयाँ योजनामा नयाँ दर्ता हुने सबै व्यापारीहरूले पहिलो ५० अर्डरसम्म तीन केजीसम्मका पार्सल नेपालभर निःशुल्क पठाउन सक्नेछन् । कम्पनीका अनुसार अप्रिल र मे महिनामा डेलिभरी शुल्कमा छुट दिँदै काठमाडौं उपत्यकाभित्रको डेलिभरीका लागि तीन केजीसम्म ५९ रुपैयाँ र काठमाडौं उपत्यकाबाहिरका लागि ७९ रुपैयाँ तोकिएको छ । साथै, महोत्सव अवधिभर दुई सयभन्दा बढी अर्डर गर्ने १० जना व्यापारीहरूले ५० बराबरको फेसबुक एड क्रेडिट जित्न सक्नेछन् । त्यस्तै, दैनिक अर्डर गर्ने व्यापारीहरूमध्ये हरेक हप्ता एक जनाले एक सय वटा निःशुल्क डेलिभरी भौचर जित्नेछन् भने हरेक दिन विभिन्न गिफ्ट ह्याम्पर वा सपिङ भौचर जित्न सक्नेछन् ।
पठाओले व्यापारीहरूका लागि २४ घण्टामा फन्ड सेटलमेन्ट, २४ घण्टा ग्राहक सेवा सपोर्ट र व्यावसायिक ड्यासबोर्ड सुविधा समेत उपलब्ध गराएको जनाएको छ । जसले गर्दा उनीहरूले अर्डर, भुक्तानी र ट्रयाकिङ सजिलै गर्न सक्नेछन् । सहभागी हुन चाहने व्यापारीहरूले पठाओ पार्सलको वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्नेछन् वा ०१–५९७०७९९ नम्बरमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।