काठमाडौं । ट्याक्सी फ्लिट मेट्रो अनलाइन ट्याक्सीले सरल किस्ताबन्दीमा नयाँ ट्याक्सी किन्न पाउने गरी विशेष अफर ल्याएको छ ।
मेट्रो अनलाइन ट्याक्सीले ल्याएको अफरमा १० लाख रुपैयाँ डाउन पेमेन्ट तिरेपछि किस्ताबन्दीमा ट्याक्सी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । ईजी एस्योरेन्स प्रालिअन्तर्गत रहेको मेट्रो अनलाइन ट्याक्सीले सरल तथा सजिलो ट्याक्सी किस्ताबन्दी कार्यक्रम सञ्चालनमा ल्याएको हो । नेपाल सरकारको नियमअनुसार २० वर्ष अवधि पूरा गरेका जुनसुकै ट्याक्सीहरूको सट्टामा शोधभर्ना सुविधाअन्तर्गत तथा ईभी ट्याक्सी सञ्चालन गर्नुपर्ने भएको हुँदा पुराना ट्याक्सीधनीले यस अफरबाट फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ । ‘देशमा रहेको बेरोजगारी समस्या र युवाको बढ्दो विदेश पलायनलाई रोक्ने लक्ष्य बनाएर हामीले यो ईभी ट्याक्सीमा किस्ताबन्दी अफर ल्याएका हौं,’ मेट्रो अनलाइन ट्याक्सीका अध्यक्ष सञ्जित पौडेलले भने, ‘यसले देशभित्रै आत्मनिर्भर हुने र नियमित आम्दानीको अवसर दिनेछ ।’
सरकारको मापदण्डभित्र रहेका जुनसुकै ब्रान्डका ईभी ट्याक्सीहरू यस योजनाअन्तर्गत लिन सकिने व्यवस्था मिलाइएको छ । यस किसिमको किस्ताबन्दी सुविधा विभिन्न बैंक तथा वित्तीय संस्था तथा गाडी कम्पनीहरूसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ । यसले वायु प्रदूषण न्यून गर्नुका साथै स्वच्छ ऊर्जाको प्रवद्र्धन गर्ने सरकारी नीतिलाई सहयोग पुग्नुका साथै ट्याक्सी चालकहरूलाई समेत आर्थिक लाभ हुने उनले बताए । आधा दशकदेखि नेपालमा ट्याक्सी व्यवसायलाई मर्यादित तथा व्यवस्थित बनाउने उद्देश्यका साथ स्थापना भएको सेवाप्रदायक कम्पनी मेट्रो अनलाइन ट्याक्सीले एउटै छानामुनि ट्याक्सीसम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले किस्ताबन्दीमार्फत किनेका ट्याक्सीहरूलाई नियमित मर्मत सम्भार सेवामा विशेष छुट समेत प्रदान गर्नेछ ।