अछाम । जयगढ बजारमा घरमा राखेको ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको छ । उक्त आगलागीमा ७ करोड भन्दा बढी क्षति भएको अनुमान गरिएको छ । अछाम प्रहरी प्रमुख प्रहरी नायब परीक्षक ईश्वरीप्रसाद भण्डारीले जयगढ बजारमा रहेका २७ वटा घरपसल, सामग्री गरेर ७ करोडभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए ।
आगलागीबाट खुद्रा पसलसँगै रहेका ढुंगामाटोका १०, जस्तापाताका १५, पक्की दुई घर पसल जलेर नष्ट भएको छ । सुनचाँदी, कपडा, स्थानीय सामग्री आगजनीमा परेर जलेका छन् । अछाम प्रहरीले आगलागीबाट भएको धनमालको क्षतिका बारेमा थप विवरणहरु संकलन भइरहेको जानकारी दिएका छन् । आधा रातिसम्म आगलागी नियन्त्रण नभएको र ठुलो क्षति भएकाले विवरण संकलनको काम भइरहेको उनले बताए ।
जिल्लामा एक मात्र दमकल भएका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको बताइएको छ । स्थानीय पुष्पराज शर्माको आइएमइ सेन्टरबाट बेलुकी करिब साढे ७ बजेटबाट भएको आगलागी पाँच घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
बान्नीगढी जयगढ गाउँपालिकाको कार्यालयसँगै जोडिएको जयगढ बजारका साथै नजिकै रहेको खर मेलामा आगलागी भएपछि बजार सकिने चिन्तामा स्थानीय रहेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मंगलसेन नगरपालिकाको दमकलको प्रयासपछि लामो समय लगाएर आगलागी नियन्त्रणमा लिइएको थियो ।