काठमाडौं । राष्ट्र बैंकको तथ्याङ्कले बजारमा वस्तु तथा सेवाको मूल्य विगतका वर्षहरूको तुलनामा केही घटेको देखिए पनि वास्तविक बजारमा भने चरम महँगी कायम रहेको छ । कुनै पनि किसिमको वस्तु तथा सेवा बजारको मूल्य छोईनसक्नु छन् । वस्तु तथा सेवा बजारको मूल्य कस्तो छ भनेर जो–कोही सर्वसाधारणलाई सोध्दा पनि एउटै जवाफ आउँछ, बजारमा केही पनि सामान किनिसाध्यै छैन, मूल्यले आकाश छोएको छ । वस्तु तथा सेवा बजारको विषयमा उपभोक्ताहरूको यो साझा भनाइ आइरहँदा नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको प्रतिवेदनले भने विगतका वर्षहरूको तुलनामा वस्तु तथा सेवाको मूल्य केही घटेको देखाएको छ ।
अर्थशास्त्रमा मुद्र्रास्फीति भनेको वस्तु तथा सेवाको मूल्य बढ्नु र पैसाको मूल्य घट्नु हो । राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको थियो । यसो भन्नुको अर्थ गत आवको सोही अवधिको तुलनामा चालू आवको पछिल्लो आठ महिनामा वस्तु तथा सेवा केही सस्तो हुनु हो । राष्ट्र बैंकका अनुसार चालू आवको फागुन महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ३४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः पाँच दशमलव ९५ प्रतिशत र चार दशमलव सात प्रतिशत रहेको थियो । प्रतिवेदनअनुसार चालू आवको फागुन महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १३ दशमलव ७४ प्रतिशत, दाल तथा गेडागुडीको सात दशमलव ८० प्रतिशत, फलफूलको छ दशमलव ८२ प्रतिशत र गैरमदिराजन्य पेयपदार्थको पाँच दशमलव १५ प्रतिशतले बढेको छ । यस अवधिमा मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव १७ प्रतिशत, तरकारीको एक दशमलव २४ प्रतिशत र माछा तथा मासको शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव १४ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको सात दशमलव शून्य एक प्रतिशत, मदिराजन्य पेयपदार्थको छ दशमलव शून्य सात प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव ५९ प्रतिशत र यातायातको पाँच दशमलव शून्य सात प्रतिशतले बढेको छ । प्रतिवेदनअनुसार चालू आवको फागुन महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव १८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क तीन दशमलव ६० प्रतिशतले बढेको छ । प्रदेशगतरूपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ६८ प्रतिशत, मधेश प्रदेशको तीन दशमलव ५२ प्रतिशत, बागमती प्रदेशको दुई दशमलव ९८ प्रतिशत, गण्डकी प्रदेशको दुई दशमलव ७७ प्रतिशत, लुम्बिनी प्रदेशको तीन दशमलव ७७ प्रतिशत, कर्णाली प्रदेशको तीन दशमलव ८० प्रतिशत र सुदूरपश्चिम प्रदेशको चार दशमलव ४१ प्रतिशत रहेको छ । यस अवधिमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत, तराईको तीन दशमलव ७७ प्रतिशत, पहाडको तीन दशमलव ७२ प्रतिशत र हिमालको चार दशमलव ७७ प्रतिशत रहेको छ ।
प्रतिवेदनअनुसार २०८१ फागुन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति भने चार दशमलव ४३ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति तीन दशमलव ६९ प्रतिशत रहेको थियो । चालू आवको फागुन महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः आठ दशमलव शून्य दुई प्रतिशत, दुई दशमलव ५७ प्रतिशत र तीन दशमलव १७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति एक ६३ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
चालू खाता एक खर्ब ८० अर्ब रुपैयाँले बचतमा
काठमाडौं । मुलुकको चालू खाता बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी प्रतिवेदन अनुसार समीक्षा अवधिमा चालू खाता एक खर्ब ८० अर्ब आठ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ६७ अर्ब ४५ करोडले बचतमा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २६ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा एक अर्ब ३३ करोडले बचतमा रहेको छ । चालू आवको फागुन महिनाको अवधिमा खुद पुँजीगत ट्रान्सफर छ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन अर्ब ८९ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा आठ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पाँच अर्ब ६३ करोड रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको फागुन महिनामा मुलुकको शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब २९ करोडले बचतमा रहेको छ । प्रतिवेदनअनुसार चालू आवको फागुन महिनामा मुलुकको खुद सेवा आय ७५ अर्ब १३ करोड रुपैयाँले घाटामा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४३ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय नौं दशमलव सात प्रतिशतले बढेर ५६ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ६९ करोड रहेको थियो ।
प्रतिवेदनअनुसार चालू आवको फागुन महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय २० दशमलव छ प्रतिशतले बढेर एक खर्ब ४८ अर्ब ११ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ८८ अर्ब ९८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक खर्ब २२ अर्ब ८१ करोड रहेकोमा शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।
आठ महिनामा यस्तो देखियो अर्थतन्त्र
– वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत
– आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको
– विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.४ प्रतिशतले र अमेरिकी डलरमा ६.९ प्रतिशतले बढेको
– शोधनान्तर स्थिति रु. ३१० अर्ब ३७ करोडले बचतमा
– कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको
– नेपाल सरकारको खर्च रु. ८३९ अर्ब ३६ करोड र राजस्व परिचालन रु. ७२० अर्ब ३५ करोड
– विस्तृत मुद्राप्रदाय ४.८ प्रतिशतले बढेको
– वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको
– बैंकहरुको निक्षेप सङ्कलन ४.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बढेको
– वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.७ प्रतिशत रहेको
ढुकुटीमा २४ खर्ब नौ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति
काठमाडौं ।विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेर २०८१ फागुन मसान्तमा २४ खर्ब नौ अर्ब २५ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ फागुन मसान्तमा १३ दशमलव एक प्रतिशतले बढेर १७ अर्ब २७ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ फागुन मसान्तमा १५ दशमलव दुई प्रतिशतले बढेर २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ फागुन मसान्तमा ४४ दशमलव नौ प्रतिशतले वद्धि भई दुई खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ । २०८१ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव सात प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४२ दशमलव दुई प्रतिशत, एक सय १९ दशमलव चार प्रतिशत र ३३ प्रतिशत रहेका छन । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५ दशमलव आठ प्रतिशत, एक सय आठ दशमलव छ प्रतिशत र २९ दशमलव तीन प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
आठ महिनामा भित्रियो १० खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स
काठमाडौं । वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात् रेमिट्यान्स रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन महिनासम्ममा रेमिट्यान्स नौ दशमलव चार प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८ दशमलव तीन प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह छ दशमलव नौ प्रतिशतले बढेर ात अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव एक प्रतिशतले बढेको थियो ।
प्रतिवेदनअनुसार चालू आवको पछिल्लो आठ महिनाको अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख १७ हजार चार सय तीन पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ८५ हजार तीन सय ५२ र एक लाख ८२ हजार सात सय ८३ रहेको थियो ।