काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण सेयर सूचीकरण भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ अंकित मुल्य कायम रहेको ७५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष एनआईएमबी एस क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक)मार्फत साधारण सेयर खुला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारण लगानीकर्ता सेयरधनीहरू (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरू समेत)मा वितरण गरिएको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको ७० प्रतिशत अर्थात् ५२ लाख ५० हजार कित्ता समेत गरी कुल ७५ लाख कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८१/१२/२६ गतेको निर्णयानुसार सूचीकरण गरिएको कम्पनीले जनाएको छ ।
धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनबाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुनेछ । प्रस्तुत कम्पनीको प्रधान कार्यालय वीरेन्द्रनगर ६, सुर्खेतमा रहेको र सूचीकरणपश्चात् दिनुपर्ने सेवा हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंबाट हुने कम्पनीले जानकारी दिएको छ ।