काठमाडौँ । तीर्थकङ्र भगवान् महावीरको २६२४औँ जन्मदिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिँदै सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
“नेपाल जैन परिषद्को आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहभागितामा महावीरको २६२४औँ जन्मदिवसलाई अहिंसा दिवसका रूपमा मनाउन लागिएको छ । यस अवसरमा खुसी व्यक्त गर्दै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।” उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीले मानवीय मूल्यमा आधारित दर्शनले व्यक्तिको जन्म र मृत्युको क्रमबाट मुक्त हुनुपर्ने धारणा राख्दै जैन दर्शन प्राचीन दर्शनमध्ये एक भएको उल्लेख गरे । उनले व्यक्ति सांसारिक विषयबाट बन्धनमा रहने र यसबाट मुक्त हुनुपर्ने मान्यता उल्लेख गरेका छन् ।
“वेदको प्रामाणिकतालाई विश्वास नगरी सांसारिक कर्मबाट मुक्ति र सम्यक प्रषार्थ जैन दर्शनको मौलिक मान्यता हो, संसारमा दुःख रहेको र दुःखको मूल कारण कर्मलाई यस दर्शनले मान्ने गरेको छ”, उनले भने । आध्यात्मिक अनुभवमार्फत यसले स्वतन्त्र व्यक्तित्व वा सम्पूर्णता प्राप्त हुने उनको भनाइ छ । रोग, द्वेष, मोह आदि विकार तत्त्वमाथि विजय प्राप्त गरेर तीर्थकङ्र बन्न सकिने धारणा यस दर्शनमा रहेको उनले उल्लेख गरे ।