नवलपुर । नारायणघाट–बुटबल सडक बिहीबार बिहानदेखि परेको हल्का वर्षाका कारण अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले हल्का वर्षा भएपछि हिलो र चिप्लो भएका कारण राजमार्गको दाउन्ने खण्ड बिहान ९ बजेदेखि अवरुद्ध भएको जनाएको छ ।
गाडी चल्न दिने समयमा समेत बाटो अवरुद्ध भएपछि यात्रा गर्ने यात्रीहरुले सास्ती भोग्दै आएका छन् । उक्त स्थानमा चैत २७ देखि चैत ३१ गतेसम्म गाडी रोकेर विस्तारको काम भइरहेको हुँदा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी चलाउन दिइएको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिए ।