वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरुमा एक सय चार प्रतिशतसम्म कर लगाउने घोषणा गरेपछि चीनले पनि अमेरिकी सामान आयातमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।
ट्रम्पले दर्जनौँ अर्थतन्त्रमाथि दण्डात्मक भन्सार दर बुधबार लागू गरेका छन र यसले विश्वव्यापी व्यापार युद्धलाई प्रोत्साहन गरेको छ । युरोपियन युनियन (इयु)ले नयाँ अमेरिकी करहरु पुष्टि गरेपछि चीनले अमेरिकी सामानहरुमा ८४ प्रतिशत कर लगाएर ट्रम्पको कर नीतिको बदला लिएको हो । चीनले यो कर बिहीबारदेखि लागू हुने घोषणा गरेको छ ।
अमेरिकाले बुधबार बिहानदेखि युरोपेली संघ (ईयू) र जापान र चीनबाट हुने आयातमा थप दरहरु लागू गरेको छ । यसबाट विश्वको दोस्रो अर्थतन्त्र र अमेरिकाको प्रमुख व्यापार साझेदार चीन सबैभन्दा धेरै प्रभावित भएको छ । ट्रम्प ह्वाइट हाउसमा फर्केपछि चिनियाँ उत्पादनहरूमा लगाइएका भन्सार दरहरू अहिले आश्चर्यजनकरूपमा एक सय चार प्रतिशत पुगेको छ । चीनले भने व्यापार युद्ध ‘अन्त्यसम्म’ लड्ने र आफ्नो हितको रक्षा गर्न प्रतिकार गर्ने चेतावनी दिएको छ । ह्वाइट हाउसले जापान र दक्षिण कोरियाजस्ता सहयोगीहरूलाई प्राथमिकता दिने भन्दै मंगलबार आफ्नो सरकारले व्यापारिक साझेदारहरूसँग ‘अनुकूल सम्झौताहरू’मा काम गरिरहेको बताएको छ ।
चीनले अमेरिकी सामानमा लगाएको ३४ प्रतिशत कर गत बिहीबारदेखि लागू भइसकेको छ । त्यसपछि ट्रम्पले अर्को ५० प्रतिशत भन्सार शुल्क थपेका हुन् । त्यसको जवाफमा चीनले भन्सार शुल्क ८४ प्रतिशत पु¥याएको हो । चीनले कर वृद्धिमा प्रतिशोधको घोषणा गर्दा, ट्रम्पले कम्पनीहरुलाई अमेरिकामा स्थानान्तरण गर्न आग्रह गरेका छन् ।