सुबास बस्नेत
दोलखा, साउन १५
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखामा गैरलाभग्राहीको सूचीमा नाम परेका भूकम्पपीडितहरूको भीड लाग्न थालेको छ । चौथो पटकको गुनासोमा समेत गैरलाभग्राहीको सूचीमा नाम आएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला शाखा दोलखामा पुनरावेदन दिने भूकम्पपीडितको भीड लागेको हो ।
पुनर्निर्माण प्राधिकरण चरीकोटको तथ्यांकअनुसार ४ दिनको अवधिमा नौ सय जनाले पुनरावेदन दिएका छन् । पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनर्जाँच गर्न ३५ दिनको सूचना जारी गरेको हुँदा जिल्लाका ९ स्थानीय तहका नौ सय जनाले प्राधिकरणमा पुनरावेदन दर्ता गराएका हुन् । २ नगरपालिका र ७ गाउँपालिका रहेको दोलखा जिल्लामा सात हजार एक सय ५५ जना गैरलाभग्राही सूचीमा परेका छन् । जसमध्ये हालसम्म नौ सय जनाले पुनरावेदन समितिमा पुनरावेदन पाऊँ भनी पुनरावेदन दिएका हुन् ।
दोलखामा ५ वर्षको अवधिमा ५९ हजार घर पुनर्निमाण सम्पन्न भएको छ । भूकम्प गएको पाँच वर्ष दुई महिना पूरा हुँदा जिल्लामा ५९ हजार घर पुनर्निमाण सम्पन्न भएको हो । पुननिर्माण सकिएका मध्ये ५९ हजार चार सय ४४ लाभग्राहीले अन्तिम किस्ताबापतको रकम प्राप्त गरिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाका निमित्त प्रमुख अश्विन पोखरेलले जानकारी दिए । निर्माण सुरु गरेका ६३ हजार एक सय ७२ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम पाइसकेका छन् । ७३ हजार तीन सय ४२ परिवार लाभग्राहीको सूचीमा रहेका छन् । त्यसमध्ये अनुदान सम्झौता गरेर पहिलो किस्ता लगिसक्ने लाभग्राहीको संख्या ६८ हजार छ सय ९७ रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाको वैतेश्वर र बिगु गाँउपालिकामा केही घरहरू दाताको सहयोगमा पुनर्निर्माणको काम सकिएको छ । कार्यालयका निमित्त प्रमुख पोखरेलले लकडाउनका कारण सुरुमा रफ्तारमा काम अगाडि बढाउन नसकिए पनि अहिले कामलाई निरन्तर अगाडि बढाइरहेको बताए । राज्यले तोकेकै समयमा दोलखाको पुनर्निर्माण सक्ने योजना रहेको उनले बताए । पुनर्निर्माण सम्पन्न गर्ने ३० हजार लाभग्राहीले निजी आवास निर्माणसम्पन्न प्रमाणपत्र समेत पाइसकेका छन् ।